डोटी,८, वैशाख, ।
स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडी जिल्लामा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन ।सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट बताउँछन् । ‘पहिलो चरणमा पञ्चेश्वर, दोगडाकेदार र डिलासैनी गाउँपालिकाबीच चुनावी तालमेल गर्ने गरि छलफल भयो’ भट्ट भन्छन् ‘गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा भागबन्डा मिल्यो तर वडाध्यक्षमा नमिल्दा रोकियो ।’
उनले एकीकृत समाजवादीले तीन पालिकामध्ये एउटामा उपाध्यक्ष पाउने गरी सहमति गरेको तर वडामा आफ्नो सम्मानजनक स्थान हुनु पर्ने माग राखेको वताए । उनी थप्छन् ‘कांग्रेसमा एक्लै जित्न सकिन्छ भन्ने दम्भ देखियो, त्यसैले कुरा मिलिरहेको छैन ।’तीन पालिकामा वडा समेत टुङ्गो नलागेसम्म अन्य पालिकाको विषयमा छलफल नहुने भट्टले बताए । उनले अपमान हुने गरी आफूहरू चुनावी तालमेल नगर्नेसमेत जानकारी दिए । उनी भन्छन्, ‘अस्तित्वनै स्वीकार नगर्ने हो भने हामी एक्लै चुनाव लड्छौं ।’कांग्रेसले जिल्लाका १० पालिकामध्ये सातमा दाबी गरिरहेकोले पनि तालमेल हुन समस्या भइरहेको अध्यक्ष भट्टको भनाइ छ । उनले भने, ‘यो ढंगले त कुरा मिल्ने जस्तो छैन ।’तीनवटा पालिकामा सहमति भइसकेको बताउँछन् नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द । ‘तीन पालिकामध्ये पञ्चेश्वर र दोगडाकेदारको अध्यक्ष कांग्रेसले पाएको छ’ चन्द भन्छन् ‘डिलासैनीको अध्यक्ष माओवादी केन्द्रले पाएको छ ।’
उनले डिलासैनीमा कांग्रेस, दोगडाकेदारमा माओवादी र पञ्चेश्वरमा एकीकृत समाजवादीले सत्ता गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार उठाउने गरी सहमति भएको जानकारी दिए । ‘वडाहरूमा केही विवाद देखिएको हो’ चन्द भन्छन् ‘त्यो स्थानीयस्तरमा छलफल गरी मिलाउने कुरा भएको छ, मिल्छ ।’ ०७४ सालको स्थानीय तहको निर्वाचनमा पञ्चेश्वर, दोगडाकेदार र डिलासैनी गाउँपालिकामा नेकपा एमालेले जितेको थियो ।अन्य पालिकाहरूमा पालिकास्तरमै छलफल भएर सहमति भए तालमेत गर्ने नभए सत्ता गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धा गरेर जाने कुरा भएको चन्दले जानकारी दिए ।तीनवटा पालिका भागवण्डा टुङ्गो लागिसकेको नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला संयोजक शंकर भण्डारीको दाबी छ । उनले भने, ‘तीनवटा पालिकाको पालिकास्तरमा कुनै विवाद छैन, वडास्तरमा सामान्य विवाद हो, त्यो मिल्छ, आज या भोलिसम्म मिलाउछौं ।’
अन्य सातवटा पालिकाहरुमा द्विपक्षीय, त्रिपक्षीय रुपमा छलफल चलिरहेको भण्डारी बताउँछन् । ‘भरसक राष्ट्रिय रुपमा सबै ठाउँमा सत्ता गठवन्धनबीचमै चुनावी तालमेल गरेर जाने भन्ने भएको हुँदा हामी पनि त्यसरीनै जाने कुरा भएको छ’ भण्डारीले भने ‘यदि त्यसो हुन सकेन् भने कतै कांग्रेस-माओवादी, कतै समाजवादी-माओवादी, कतै कांग्रेस समाजवादीबीच पनि तालमेल हुन सक्छ ।’ त्यस्तो पनि नभएको खण्डमा स्वच्छ प्रतिस्पर्धा गरेर जाने सहमति दलहरूबीच भएको उनले बताए ।







