काठमाडौं,७, वैशाख ।
अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर नेपालको अर्थतन्त्र श्रीलंका जस्तो संकटको अवस्थामा नरहेको जानकारी गराएको ३६ घण्टा नबित्दै मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघले अर्थतन्त्र बारेको आफ्नो सोही धारणा दोहोर्यायो ।आइतबार साँझ अर्थमन्त्रीलाई सुटुक्क भेटेर आफ्नो माग र अर्थतन्त्रको अवस्थाबारे प्रस्तुतीकरण गरेको परिसंघले अर्थ मन्त्रालयबाटै आफ्नो प्रस्तुतीकरण चुहिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो ।
राजधानीको एक होटलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले मुलुकको अर्थतन्त्र बाहिर हल्ला गरिएजस्तो संकटपूर्ण अवस्थामा नरहेको बताए । ‘मुलुकको अर्थतन्त्र संकटको अवस्थामा छैन, निरास हुनुपर्ने अवस्था छैन तर चनाखो भने हुनुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘सबै कुरा ठीक छ भन्न खोजेको होइन तर अवस्था बाहिर हल्ला गरिएको जस्तो होइन ।’ पत्रकार सम्मेलनमा अर्थतन्त्रबारे छोटो धारणा राखेका अग्रवालले अर्थतन्त्र सुधारको बाटोमा रहेको पनि दाबी गरे ।
अर्थतन्त्रको वर्तमान अवस्थाबारे परिसंघको प्रस्तुतिका लागि उनले परिसंघका उपनिर्देशक अनुज अग्रवाललाई फोरम दिए । अग्रवालले प्रस्तुत गरेको अध्ययन कार्यपत्रमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन हुनुअघि चालिएका कदमले बजारलाई त्रासदिपूर्ण वातावरणमा पुर्याएको आरोप लगाइएको छ जुन सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दा लगाएको आरोपसँग मेल खान्छ ।
परिसंघका पदाधिकारीसँगको भेटमा आइतबार साँझ अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रबारे श्रीलंकाको जस्तो हुने भनेर गलत हल्ला फिजाएको दाबी गरेका थिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले भनेका थिए, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’
गभर्नर निलम्बनको भोलिपल्ट पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको सार्वजनिक अभिव्यक्ति र एमालेका तीन पूर्व अर्थमन्त्रीले गरेको पत्रकार सम्मेलन लक्षित अभिव्यक्तिलाई अर्थमन्त्री शर्माले दिएको जवाफकै शैलीमा परिसंघ मंगलबार प्रस्तुत भयो । परिसंघले पत्रकारहरुलाई वितरण गरेको प्रेस नोटमा ‘हामी किन संकटमा छैनौं’ भन्ने शीर्षकमा नेपाल र श्रीलंकाबारे तुलना भनेर ४ बुँदामा प्रष्ट्याइएको छ ।
जसमा नेपाल र श्रीलंकाको कूल ग्राहस्थ्य उत्पादनको आकार दोब्बरले अन्तर रहेको, कूल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको बताइएको छ ।
यस्तै कूल सञ्चिती ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेको तर श्रीलंकाको एक महिनाको पनि वस्तु तथा आयात धान्न सक्ने अवस्थामा नरहेको र मुद्रास्फिति नेपालको ७ प्रतिशत रहेको जबकी श्रीलंकामा २५ प्रतिशत रहेको बताइएको छ । परिसंघका अनुसार उल्लेखित तथ्याङ्कका आधारमा नेपाल र श्रीलंकाबीच तुलना हुने नसक्ने र गरिने तुलना असहज र अत्यासलाग्दो वातावरण सिर्जना मात्रै हुने परिसंघको दाबी छ ।
अर्थतन्त्र नबिग्रिएको दाबी साबित गर्न परिसंघले राष्ट्र बैंकका निलम्बित गभर्नर अधिकारीले चालेको कदमलाई त्रासदीपूर्ण वातावरण सिर्जनाको संज्ञा दिएको छ । मंगलबार जारी प्रेस नोटमा ५ भदौमा जारी १८ किसिमका वस्तु आयातमा शतप्रतिशत मार्जिन र २ प्रकारका वस्तुमा ५० प्रतिशत मार्जिनको व्यवस्था, २६ माघमा पुनः ४३ किसिमका वस्तुमा शतप्रतिशत र ४ किसिमका वस्तुमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरिनु पनि त्रास फैलाउने काम भएको उल्लेख छ।
यस्तै, गत फागुनमा केन्द्रीय बैंकले भारित जोखिम वृद्धि गरेको र चैत २१ मा बैंकका सीईओहरुलाई वस्तु आयातको बैंक ग्यारेन्टी नखोल्न दिएको मौखिक निर्देशन पनि यसैको निरन्तरता भएको परिसंघको आरोप छ । केन्द्रीय बैंकको यस्तो नीतिले रेमिट्यान्स घट्ने, विदेशी लगानीकर्ता निरुत्साहित हुने, सरकारी राजश्व घट्ने जस्ता जोखिम रहेको परिसंघको निष्कर्ष छ ।
परिसंघले चालु आर्थिक वर्षको अर्थतन्त्रका विभिन्न सूचकहरु प्रस्तुत गर्दै अर्थतन्त्र जोखिममा नरहेको दाबी गरेको छ । जसअनुसार वैदेशिक व्यापार पाँच महिनामा औसत १ खर्बको ६७ अर्ब बराबरको आयात भइरहेकोमा पछिल्लो ३ महिनामा मासिक औसत एक खर्ब ५६ अर्बको मात्रै मासिक आयात भएको परिसंघले जनाएको छ । यस्तै कुल विदेशी विनिमय सञ्चिति पहिलो ५ महिनामा ३.२४ प्रतिशतले ऋणात्मक रहेकामा पछिल्लो ३ महिनामा १.५३ प्रतिशतले मात्रै घटेको जनाइएको छ ।यस्तै पुँजीगत खर्च सुरुवाति ५ महिनामा २८ अर्ब ४० करोड रहेकोमा पछिल्लो ३ महिनामा ४८ अर्ब ७० करोड खर्च भएको परिसंघको भनाइ छ । बैंकहरुको कूल निक्षेप संकलन पछिल्लो ३ महिनामा ९२ अर्बले वृद्धि भएको, मासिक विप्रेषण औसत ८० अर्ब ८० करोड पुगेको, पर्यटन आगमन बढेको र मूल्यवृद्धि ६.२५ प्रतिशतकै सीमामा रहेको परिसंघले जनाएको छ ।परिसंघले सत्ताको गुणगान गएर आफ्नो स्वार्थअनुसारको बोली बोलेर राजनीति गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष अग्रवालले भने, ‘हामी राजनीतिक संस्था पनि होइनौं र राजनीति गर्दैनौं पनि ।’







