डोटी,६, वैशाख, ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले डोटीका पाँच गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।ओझा गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । ओझाले आफ्ना प्रतिस्पर्धीलाई ६ सय ३६ मतले पछि पारेका थिए ।
यस्तै, सायल गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर डुम्रेललाई सर्वसम्मत उम्मेदवार छानेको छ । डुम्रेल ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन् । डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ मतले पछि पारेका थिए ।आदर्श गाउँपालिकाको अध्यक्षका उम्मेदवारका रुपमा डम्मरबहादुर वली चयन भएका छन् । गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दावी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरुले मतदान गरेका थिए । मतदानमा ४१ मत प्राप्त गरी वली अध्यक्षको उम्मेदवारका लागि छानिए ।
उम्मेदवार चयनका लागि बसेको गाउँ कमिटी बैठकमा ८९ सदस्यमध्ये ७८ जना सहभागी थिए । एमाले डोटी जिल्ला कमिटी सदस्य समेत रहेका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरीचौका गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।यस्तै, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्षका लागि हस्तबहादुर बुढालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ भने केआई सिंह गाउँपालिकाका लागि तेजबहादुर माझी सर्वसम्मत उम्मेदवार बनेका छन् ।एमालेले पाँच गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार छानेको छ । सायल गाउँपालिका उपाध्यक्षमा विष्ना सिंहलाई सर्वसम्मत चयन गरिएको छ । सिंह यसअघि पनि उपाध्यक्षमा बिजयी भएकी थिइन् । यस्तै जोरायल गाउँपालिकाको उपाध्यक्षमा जमुना बोहरालाई नै दोहोर्याइएको छ ।
यस्तै पूर्वीचौकी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले पुरानै अनुहार दोहोर्याएको छ । गत स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित निर्मला साउँदलाई उपाध्यक्षमा दोहोर्याएको एमालेले जानकारी दिएको छ ।केआई सिंह गाउँपालिकाको उपाध्यक्षका लागि धनादेवी कुँवरलाई र बढीकेदार गाउँपालिकाका लागि सपना सिराडीलाई एमालेले छानेको छ ।आवश्यक संख्या भन्दा बढी आकांक्षीहरु भएका पालिकाबाट जस्तो नाम आयो, त्यस्तै प्रदेश कमिटीमा पठाइएको एमाले डोटीका सचिव शेरबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सबैभन्दा बढी ६ जना आकांक्षी छन् ।बहालवाला नगर प्रमुख मन्जु मलासी, सच्चिदानन्द जोशी, पूर्णराज जोशी, लक्ष्मण मलासी, सशी सोव र प्रेमबहादुर नेपालीको नगर प्रमुखमा दावी छ । यस्तै उपप्रमुखमा जानकी भट्ट, दीर्घ नेगी र लोकबहादुर खड्काको दावी छ ।
शिखर नगरपालिकाको प्रमुखका लागि जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र भिमबहादुर बलायरको दावी छ । यस्तै शिखरमा उपप्रमुखका लागि पदमा बलायर, लक्ष्मी मल्ल र रमा सुताराको दावी छ ।पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा डम्मर डौडी, कृष्णकुमार खड्का र भरतबहादुर बोहराको दावी रहेको छ । बडीकेदार गाउँपालिकाको अध्यक्षमा चक्र घर्ती, तिलक मल्ल र लालबहादुर ताडीको नाम सिफारिस भएको छ ।आदर्श गाउँपालिकाको उपाध्यक्षका लागि बहालवाला उपाध्यक्ष कमलादेवी ओझा, देवकी बोहरा, जानकी खड्का र शोभा सिंहको दावी छ । बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु बम र विमला बमले दावी गरेका छन् ।







