२४ चैत, चितवन ।

चितवनको भरतपुर महानगरपालिको मेयर पदमा पार्टी केन्द्रीय सभापतिले माओवादीलाई समर्थन गर्ने पो हुन कि भन्ने चिन्ता कांग्रेस चितवनका नेताहरुमा देखिन्छ ।राष्ट्रिय राजनीतिमासमेत चर्चाको केन्द्र भरतपुर बनिरहँदा माओवादीलाई यसपटक भरतपुरको मेयरमा कुनै पनि हालतमा समर्थन गर्न नहुने भन्दै कांग्रेसका चितवनका सभापति, केन्द्रीय सदस्य, सांसदसहितका नेताहरु पार्टी सभापतिलाई भेट्न काठमाडौं पुगेका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई सघाएर लगाएको पर्म यसपटक माओवादीले कांग्रेसलाई समर्थन गरेर तिर्नुपर्ने कांग्रेस नेताहरु बताउँछन् ।कांग्रेस चितवनले २० चैतमा महानगरका सबै वडाका वडा सभापति, क्षेत्रिय प्रतिनिधि र अध्यक्ष, जिल्ला समिति, केन्द्रीय समिति सदस्य, उपलब्ध सांसदहरुको बैठक राखेर कुनै पनि हालतमा भरतपुर महानगरपालिकाको मेयर नछाड्ने निर्णय गरेको छ ।

कांग्रेस सांसद उमा रेग्मीबाहेक सबै नेता कार्यकर्ताले भरतपुरको मेयरको अडान नछाड्न नेतृत्वलाई दबाब दिए ।बैठकमा बोलेका कांग्रेस चितवनका पूर्वसभापति एवम् कांग्रेस चितवनका ‘टावर’ भनेर चिनिने कृष्णलाल सापकोटाले पार्टी केन्द्रले माओवादीलाई मेयरमा सर्मथन गरे जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्ने अभिब्यक्ति दिए । उनले भने, ‘यसपटक कुनै पनि हालतमा माओवादीलाई बोक्न हुँदैन, युवाहरु विद्रोह गर, पार्टी बचाउनुपर्छ, यदि तिमीहरु सक्दैनौं भने म मैदानमा उत्रिन्छु मलाई साथ देउ ।’

पार्टी भित्र सधैं ‘विद्रोही नेताको पर्याय’ बनाएका नेता सापकोटालाई जिल्लाका नेतालेसमेत आफूलाई मन लागेका तर बोल्ने नसकेको कुरा सापकोटाले बोलिदिए हुन्थ्यो भन्ने चाह राख्छन् ।चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।

आउने वैशाखमा ८४ गर्ने तयारी गर्दै गरेका वृद्ध नेताको दुखेसो बुझ्न उनको घर बेलचोकमा अनलाइनखबरको टिम पुग्दा नेता सापकोटाले चितवनमा कांग्रेस मासिने खतरा बढेकोले यसपटक कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने विचार राखे ।कांग्रेस र कम्युनिष्टको विचार, कार्यक्रम र नीति नै अलग अलग भएकोले माओवादीसँग कुनै खालको गठवन्धन गर्न नहुने तर्क उनको छ । उनलाई अघिल्लो चुनावमा कांग्रेसले माओवादीलाई मेयरमा साथ दिएको उत्ति मन परेको थिएन ।

उनले अघिल्लो चुनावमा एक हस्तलिखित पत्र नै लेखेर गठवन्धन गरिनु निन्दनीय काम भएको उल्लेख गरेका थिए । गत चुनावमा माओवादी र रेनुलाई मत माग्न कतै नहिडेको उनको धारणा छ ।वितेको पाँच वर्षमा कांग्रेसले कहिले कता कहिले कता भोट हाल्दा पार्टी संगठन क्षयिकरण भएको, पार्टी पंक्तिमा क्षमता भएका नेताहरु निरास हुन थालेकोमा आफू चिन्तित भएको बताए ।

२/४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको बुझाइ उनको छ । कसैले गठबन्धन बिरोधी भने पनि केही फरक नपर्ने नेता सापकोटा बताउँछन् । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गरे आफूले मेयरमा उम्मेदवारी दिने बताए ।‘उम्मेदवार हुन्छु भनेर त्यसै भनेको हैन, यो उमेरमा फटाहा कुरा बोलेर हिड्ने के रहर छ ? म जित्नका लागि लड्ने हैन, कांग्रेस बचाउन मेरो दरखास्त पर्छ’, सापकोटाले भने ।

कांग्रेस पार्टी सभापतिसहितका ठूला नेताले फोन गरेर हजुर उम्मेदवारी फिर्ता लिइदिनुपर्‍यो भन्नुभयो पनि मन पग्लन्छन् होला नि भन्ने प्रश्नमा नेता सापकोटाले भने, ‘म कसैका कुरा सुन्दिनँ, मेरो मन विवेकमा लागेको कुरा गर्छु ।’यदि यस्तै गर्दै जाने हो भने कांग्रेसप्रतिको जनताको विश्वास घट्दै जाने चिन्ता नेता सापकोटाले ब्यक्त गरे । बागी उम्मेदवारी हाल्दा पार्टीले कारबाही गर्ला नी भन्ने अर्को प्रश्नमा उनले भने, ‘पार्टी कारबाही के गर्छ, खुबै गरे सदस्यता खोस्ने न हो, पञ्चायतको ३० वर्ष कांग्रेसको सदस्यता नवीकरण नगरी पनि कांग्रेस भइयो, कांग्रेसलाई समर्थन र सहयोग गर्न सदस्यता चाहिंदैन ।’कांग्रेस भित्रका क्षमतावान युवाहरुलाई सधैं पछाडि पार्ने काम भएकोले आफू बाँचुञ्जेल सहन नसक्ने बताए । नेता सापकोटाले कांग्रेस कमजोर बन्दै गएको महसुस गरेर ‘कांग्रेसको कायाकल्प कि प्रजा परिषद्को बाटो’ भन्ने पुस्तिका नै प्रकाशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here