वाराणसी — भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणको तेस्रो दिन भारतस्थित धार्मिक नगरी वाराणसी पुगेका छन् । वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । वाराणसीमा प्रधानमन्त्री देउवाले काशी विश्वनाथको पूजाअर्चनासमेत गरेका छन् ।साथै प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने बताइएको छ । त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने र साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।





