काठमाडौं, चैत्र, १३ ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताउनुभएको छ ।शनिवार काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गर्नुभएको हो । उहाँले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताउनुभयो । उहाँले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको बताउनुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘त्यसकारण यो सँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले ग¥या छैन चुनावमा ।

अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति,राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो । नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँले छक्क पर्नुभयो । तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्याछु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ । त्यसको तयारी हाम्रा सबै कमरेडहरुले गर्नुपर्छ आ–आफ्नो ठाउँबाट । कलम चलाउन जान्नेहरु कलम लिएर उठ, बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ, उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ । सबै एकतिर लागेर के गर्ने ? नेपाली जनताको फिप्टी पर्सेन्टभन्दा माथि हामीसँग छ । हामीसँग हुनुपर्छ र हामीले त्यस हिसाबले जनतामा जानुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here