काठमाडौं, चैत्र, ११ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा जल सम्बन्धी विभिन्न क्षेत्रका विज्ञहरुसँग पानीको संरक्षणको विषयमा छलफल गर्दै पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको हो । उहाँले सरकारले पानी संरक्षण गर्ने निर्णय गर्ने तर कार्यान्वयनमा समस्या भएको बताउनु भयो । राष्ट्रपति भण्डारीले पानीको संरक्षणको लागि पाइला पाइलामा काम गर्न समस्या देखिएको भन्दै तल्लो तहबाट नै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले काठमाडौं उपत्यकाको भुमिगत पानी संरक्षण गर्न सके मात्रै पनि काठमाडौंमा पानीको अभाव कम हुने बताउनु भयो । अहिले नेपालमा पानीको प्रशस्त श्रोत हुँदाहुँदै पनि अन्य श्रोतको भर पर्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले पानी संरक्षण कार्यान्वयन गर्ने विषय सरकारको मात्रै नभएर जनसमुदाय पनि लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ काठमाडौं उपत्यकाको भुमिगत पानी संरक्षण गर्न सके मात्रै पनि हामीलाई पानी अभाव हुँदैन । पानी पुग्छ । हाम्रो जमिनको पानी सतह तल गएपछि जमिन भासिने सम्भावना हुन्छ । त्यसबाट बच्न सकिन्छ । म दुखि छु । दुखी के मानेमा छु भने मैले गुनासो गर्न मिल्दैन । विज्ञहरुले दिएको सुझावलाई सरकारलाई कार्यन्वयनको दिशामा लान सुझाव दिने, नीति बनेको छैन भने नीति बनाउने बनेको नीति कार्यान्वयनमा लाने मेरो कर्तव्य हो मैले त्यही गर्नु पर्छ । हामीलाई यहाँ गाह्रो छ । काम गर्नै गाह्रो छ । स्टेप वाई स्टेप पाइला पाइलामा सिन्को भाच्नको लागि एक दमै गाह्रो छ । त्यसको लागि शिसु कक्षाबाट नै सुधार गर्नुपर्छ भन्ने लागेको छ । मैले विद्यालय तथा विश्व विद्यालयलाई बोलाएर भनेको छु । काम गर्ने निर्णय भएको कुरा पनि कार्यान्वयन नहुने अवस्था छ ।
अहिले मैले नेपालमा विद्युतको अभाव हुँदैछ भन्ने सुनेको छु । हामीसँग छ । वनमा मृगले कस्तुरी खोज्नलाई सबै तीर घुम्छ अरे भन्ने कथन सुनेको थिए सानामा । त्यस्तै खालको अवस्था भएको छ । हामीसँग पानी पनि छ । यसको कार्यान्वयनको समस्या छ । यसको कार्यान्वयन गर्ने विषय सरकारको मात्रै होइन । हामीले जनसमुदायमा सामुदायिक वनहरुलाई समेत परिचालन गरेर व्यक्ति व्यक्ति पानी संरक्षणमा लागेपछि यो विषय जनसमुदायमा लानुपर्छ । सरकारको नीति जनसमुदायमा कार्यान्वयन गर्ने हो भने पानीको संरक्षण हुन्छ। हामीले बढी भन्दा बढी समुदायमा प्राथमिकता राखेर काम गर्नु पर्छ । दिगो विकासको लक्ष्य हासिल गर्नको लागि जनसमुदायलाई पनि सँगै लानु पर्ने हुन्छ । अहिलेसम्म अध्ययन र अनुसन्धानबाट जे कुरा प्राप्त भएको छ । त्यसलाई पहिला नीतिगत रुपमा स्थापित गर्ने त्यसलाई कार्यान्वयनमा जोड दिने र अध्ययन अनुसन्धान नपुगेको छ भने अध्ययन अनुसन्धान गर्ने सरकारलाई सिफारीस गर्नु पर्छ । विषय कार्यान्वयनमा लाने कुरामा विश्व विद्यालयहरु कमजोर भएको भन्ने लागेको छ ।’
राष्ट्रपति भण्डारीले सरकारले पानीको संरक्षण गर्न जनसमुदायमा कार्यान्वयन गर्ने गरी नीति बनाउनु आग्रह गर्नु भयो। उहाँले सरकारले दिगो विकासको लक्ष्य हासिल गर्नको लागि जनसमुदायलाई पनि सँगै लानु पर्ने बताउनु भयो । पानी संरक्षणको कार्यान्वयनमा लाने कुरामा विश्वविद्यालयहरु कमजोर भएको औल्याउनु भयो । शितल निवाशमा भएको छलफलमा विज्ञहरुले सरकारको नीति र काम गराई फरक परेकोले नतिजा नआएको बताएका थिए । सरकार टुक्रा योजना र कार्यक्रममा मात्र केन्द्रित भएकोले पानी संरक्षण र दीगो उपयोगमा दीर्घकालीन सोच र योजना नै बन्न नसकेको बताए ।








