युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुदको क्षेत्रमा अझै उल्लेख्य प्रगति गर्न बाँकी रहेको बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा आयोजित महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा आधारित फिल्मको घोषणा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले यस्तो बताउनु भएको हो । उहाँले खेलकुदको क्षेत्रमा नेपालले साना हिमालहरु मात्र चढेको ओलम्पिक खेलेर सगरमाथा चढ्न आवश्यक रहेको बताउनु भयो । मन्त्री गहतराजले यस फिल्मले नेपालका खेलाडीहरुलाई प्रेरणा दिने भन्दै उहाँले यस फिल्मले नेपाली चलचित्र क्षेत्रमा पनि नयाँ शुरुवात भएको बताउनु भयो ।
मन्त्री गहतराजले भन्नुभयो, ‘हामीले पहाडहरु मात्रै चढेका छौँ । हामीले साना साना हिमालहरु मात्रै चढेका छौँ, खेल क्षेत्रको हिसावले सगरमाथा चढ्न बाँकी नै छ । त्यो भनेको ओलम्पिकमा हामी पुग्न र ओलम्पिकमार्फत विश्वलाई चिनाउन बाँकी नै छ । त्यसैले मलाई लाग्छ यो फिल्म अघि बढ्ने बित्तिकै बाँकी खेलाडीलाई सगरमाथा चढ्न प्रेरणा दिनेछ । नेपालमा चलचित्रको क्षेत्रमा नयाँ शुरुवात भएको छ । यसले खेल क्षेत्रको विकासमा धेरै ठूलो योगदान पु¥याउनेछ ।’
अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहनेछ । अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइनेछ ।






