पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताउनु भएको छ । रोल…
शनिवार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमाले जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नागरिकताको समस्या संसद नचलेको बेलामा पनि अध्यादेश ल्याएर बनाएको र अहिलेको सरकारले त्यसलाई रोकोको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो । जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन । यो पार्टी जनताको वास्तविक समस्याहरुलाई समाधान गर्ने पार्टी हो । नागरिकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ । हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरुलाई चौडा गर्ने काम गरेका छौँ । हामीले महानगर, नगर र शहरहरुलाई चक्रपथद्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरु आयोजनाहरु राख्ने, स्मार्ट सिटीहरुको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरु गरेका थियौँ ।’
नगरप्रमुख सरावगी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य थिए ।








