महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । रोल…
काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होशार मनाउने परम्परा रहेको छ । शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ । यस पटक बाँदर वर्ष पूरा भई चरा वर्ष शुरु भएको छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने विश्वास रहेको छ । ल्होसार तिब्बतिय राज परम्पराबाट आएको र ल्होसार शब्द पनि तिब्बतीयन भएको बौद्धधर्मावम्बी पासाङ लामाले बताउनु भयो । उहाँले ल्होसार नयाँ वर्षको रुपमा रहेको र यसले हर्ष, उमंगलाई भर्ने जनविश्वास रहेको बताउनु भयो ।
बौद्धधर्मावलम्बी लामाले भन्नुभयो, ‘यो ल्होसार भन्नाले नयाँ वर्षलाई जनाउँछ । ग्याल्पो भन्नाले राजालाई जनाउँछ । राज परम्पराबाट चलि आएको ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । ल्होसार भन्ने बौद्धिष्टको महायान परम्परा मान्दै आएको यो ल्होसार हामीले मनाइरहेका छौँ । ल्होसार तिब्बतबाट शुरु भएको हो । यो तिब्बतियन शब्द हो ।’
ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।








