विभागीय टोली एपिएफले सुदुरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै राजधानीमा जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । रोल…
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा एपिएफले हराउँदै लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा राष्ट्रिय टोलीकी कप्तान रहेको प्रदेश नं १ लाई पनि ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उता पराजित सुदुरपश्चिमले भने दोस्रो खेलमा पहिलो हार भोगेको छ ।
सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दा एपिएफकी रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान गरिन । यस्तै ममता चौधरी १४ रनमा अविजित रहँदै जितको खाका कोर्दा ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ रनको पारी खेले । बलिङ तर्फ सुदुरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर मात्र ८९ रन जोडेको थियो । सुदुरपश्चिमका लागि कविता कुँवरले सर्वाधक १८ रनको पारी खेल्दा बिन्दु रावल र डोली भट्टले समान ११ रन जोडे । यस्तै अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पार्दा कप्तान सीता रानामगर र करुणा भण्डारी दुई–दुई विकेट लिए । किफायती बलिङ गरेकी करुणले ४ ओभरमा १ मेडन ओभर राख्दै १४ रन खर्चिएकी थिइन् । राजमती ऐरीको नाममा एक विकेट रह्यो ।
लगातार दोस्रो जित निकाललेको एपिएफले अब तेस्रो खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्नेछ भने पराजित सुदूरपश्चिमले तेस्रो खेल शुक्रबार नै प्रदेश १ सँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशले ललितपुर मर्यस–११ माथि २ रनको रोमाञ्चक जित निकालेको छ । ९५ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाउन सक्यो । मेयर्स–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाउँदा कस्मिना कर्माचार्य २० रनमा अविजित रहिन् । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ४ विकेट हात पर्दा अन्तिम ओरमा ह्याट्रिक पनि गरिन् । यस्तै कृतिका मरासिनीले ३ विकेट हात पार्दा सुस्मिता भुषालले दुई विकेट आफ्नो नाममा लेखाइन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० खेल्दै ४ विकेट गुमाएर ९४ रन जाडेको थियो । दुई विकेट गुमाउँदा मात्र ११ जोडेको लुम्बिनीले तेस्रो विकेटका लागि सम्हालिएको प्रदर्शन गरेको थियो । सोही क्रममा कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रनको पारी खेल्दा नेरी थापा शीला क्षेत्रीको बलमा बोल्ड हुँदै पवेलियन फकिईन् । सरस्वती पुन २० रनमा अविजित रहँदा अन्य ब्याट्रसले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बलिङ तर्फ भने सुमन खड्काले सर्वाधिक ३ विकेट आफ्नो नाममा लेखाउँदा शीला क्षेत्रको नाममा एक विकेट रह्यो । किफायती बलिङ गरेकी शीलाले चार ओभर बलिङ गर्दा एक मेडन ओभर राख्दै १८ रन खर्चिएकी थिइन् ।
प्रतियोगिामा बिहीबार दिनको १ बजे लुम्बिनी प्रदेश र प्रदेश नं १ बीच खेल हुनेछ । प्रतियोगितामा पाँच टोलीले सहभागिता जनाएका छन् ।








