काठमाण्डौं, ५ फागुन ।
‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित सो पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तकमा नेपाली काँग्रेसको इतिहास र २००७ सालमा राणाबिरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ । लेखक केसीले पुस्तकभित्र आफूले २६÷२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली काँग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्ने गरेको पनि जानकारी दिनुभयो । नेता केसीले पुस्तकमा नेपाली काँग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली काँग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोईरालाले देखाएको समाजवाद र नेपाली काँग्रेसको सन्तुलित परराष्ट्रनीतिका बारेमा बिस्तृत रुपमा उजागर गरिएको बताउनु भयो । उहाँले यस पुस्तकबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गर्नुभयो ।
केन्द्रिय सदस्य केसीले भन्नुभयो, ‘यो किताव झन्डै झन्डै म केन्द्रिय कार्यसमितिको सदस्य भएको २६÷२७ वर्ष भयो । यो बीचमा जहाँ जहाँ जुन प्रशिक्षणका कार्यक्रमहरुमा देशविदेशमा सहभागी बनेँ । त्यहाँ नेपाली काँग्रेस र यसको इतिहासका बारेमा विभिन्न पक्षहरुको प्रश्न हुन्थ्यो । जिज्ञासा राखेर सोध्ने काम गर्दथे । त्यही जिज्ञासाहरुको उत्तर मैले जे दिन्थेँ त्यसलाई साधारण नोट बनाएर मैले राख्दै गएको थिएँ । यो मेरो २०÷२२÷२५ वर्षकै प्रयत्न हो । यसमा नेपाली काँग्रेसमाथि उठ्ने विभिन्न खालको प्रश्नहरुलाई कार्यकर्ताको लेभलमा शिक्षणको रुपबाट यथार्थता र बास्तविकता पुगोस् भन्ने प्रयास हो । इतिहासमा काँग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान पु¥याएका छन् । उनीहरुले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकार संस्था काँग्रेस हो । त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौँ । भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिहरुलाई उत्खनन गरेर यसमा राख्ने कोशिस यसमा भएको छ । अर्को कुरा यसमा १३ औँ महाधिवेशनसम्म नेपाली काँग्रेसले लिएको कार्यदिशा, बिपी कोईरालाले देखाएको समाजवाद, नेपाली काँग्रेसको सन्तुलित परराष्ट्रनीतिदेखि नेपाली काँग्रेसलाई लगाइएका विभिन्न आरोपहरुको खण्डन र नेपाली काँग्रेसको झण्डाको महिमाका कुराहरु नेपाली काँग्रेसको कार्यकर्ता स्तरमा पुग्नुपर्ने आवश्यक्ता ठानेर यो पुस्तक लेखेको हुँ । यसमा नेपाली काँग्रेसका अन्तरंग कथाहरु, समाजवादी चिन्तन, सामाजिक न्यायपद्धतिका बारेमा लेखेको छु ।’
पुस्तकमा काँग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदूर संगठन आदि भातृसंस्था स्थापनाको युग प्रवर्तक पक्षलाई पनि समेटिएको छ । त्यस्तै आदिवासी–जनजाति, दलित, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदूर, किसान आदि वर्ग र समुदायसँग काँग्रेसको सम्बन्धको बारेमा पुस्तकले काँग्रेसको नीति स्पष्ट पारेको छ । त्यस्तै कम्युनिस्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काँग्रेसको मध्यमार्ग, काँग्रेसबिरुद्ध चलाईएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले संक्षिप्त जानकारी गराउने प्रयास गरेको छ । पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथिमितिसहित उल्लेख गरिएको छ भने पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ ।







