सर्लाही, ५ फागुन । उल्टो पैदल यात्री ऋषि परियारलाई सर्लाहीवासीले भव्य स्वागत गरेका छन् । माघ १५ गतेदेखि मेची–महाकाली उल्टो पैदल यात्रामा निस्किएका ऋषि परियार सर्लाही आईपुगेका छन् ।
पूर्वको मेचीपुलबाट यात्रा सुरु गरेका परियार यात्राको २०औं दिनको दिन बुधबार लालबन्दी आईपुगेका हुन् । बुधबार लालबन्दी नै बसेका उल्टो पैदलयात्री परियार बिहीबार पुनः यात्रामा निस्किएका छन् । दैनिक १५÷२० किलोमिटर यात्रा गर्न सकिरहेको बताउने परियारले यात्राको क्रममा स्थानीयवासी, सुरक्षाकर्मी र विभिन्न संघसंस्थाले गरेको सम्मान आफूले कहिल्यै नविर्सने बताए ।
‘मैले यात्रा सुरु गरेको ठाउँदेखि नै स्थानीयवासी, सुरक्षाकर्मी र विभिन्न संघसंस्थाले सहयोग गर्नुभएको छ, यात्राको सुरुका दिनहरुमा उल्टो हिड्न केही कठिनाई भएको भएपनि अहिले सहज महसुस भएको छ ।’ उनले भने, ‘उल्टो हिड्ने पनि एउटा कला हो, मैले यही कला देखाएर नेपालको नाम विश्वमा चिनाउन चाहेको हुँ ।’
उल्टो पैदल यात्री परियारलाई सर्लाहीमा पनि भव्य स्वागत तथा सम्मान गरिएको छ । यहाँका स्थानीयवासी,कलेजका विद्यार्थी विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनि समेतले उनीसँग फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने र खादा माला तथा अविर लगाएर केही नगद समेत सहयोग गरेका छन् । उनलाई उल्टो हिडिरहेको देखेपछि बाटोमा भेटिएकाहरुले उनीसँग फोटो खिचाउने गरेको उल्टो पैदलयात्री परियारले बताए ।







