काठमाण्डौं, ४ फागुन ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध कायमै राखेको हो । एमालेको अवरोधकाबीच सुरु भएको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७÷७८ पेश गर्नुभएको छ । त्यसैगरी बैठकले २०६४ सालको संविधान सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरिया, २०५८ सालमा तत्कालिन नेकपा (एमाले)को तर्फबाट निर्वाचित सदस्य तथा हाल नेकपा (एकीकृत समाजवादी)मा रहनुभएका लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा तत्कालिन नेकपा (एमाले)को तर्फबाट निर्वाचित सदस्य भई हाल नेकपा (एकीकृत समाजवादी)मा रहनुभएका डा. दुमनसिंह थापाको निधन निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा भएको अवरोधका कारण सभाको गतिशिलतामा असर परेको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो । प्रतिनिधिसभा अवरोध भएका कारण सरकारलाई संसदप्रति उत्तरदायी बनाउने तथा कानून निर्माणको काममा समेत अवरोध भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सभाको बैठक विगत वर्षदेखि कोभिड १९ लगायतका कारणहरुबाट प्रभावित भइरहेको छ । यस महामारीका कारण सभाले सामान्यतया बैठकमा व्यतित गर्नुपर्ने समयमा अपेक्षाकृत न्युनता आएको छ । बैठक सञ्चालनका लागि उपलब्ध समयमा पनि भएका अवरोधबाट सभाको गतिशिलतामा असर परेको छ । आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सदन मार्फत् सरकारलाई सुनाउने, समाधानका प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेकाले आफ्नो भुमिका प्रति संवेदनशील हुन अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई अनुरोध गर्दछु ।’
उहाँले प्रतिनिधिसभामा राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयकहरु सभामा विचाराधिन रहेकाले सो विधेयकहरुलाई पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयकहरु सभामा विचाराधिन रहेका छन् । यि विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हाम्रो दायित्व पनि हो । संसदको अवरोधका कारण विधि निर्माण प्रक्रियापनि प्रभावित भएको छ । साथै यस्तो क्रियाकलापले सभामा प्रभावकारीता वृद्धि पनि गर्दैन । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु ।’
बैठकमा एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, गैर सांसदलाई प्रवेश निषेध गर, सवैधानिक सर्वोच्चता कायम गर, हाम्रो बिरोध जारी छ, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजेका लागि बोलाइएको छ ।








