धनुषामा डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले रबरको गोली चलाएको छ ।

जनमत पार्टीको जारी किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-८ स्थित पोर्ताहामा द्विपक्षीय झडप हुँदा गोली चलेको हो ।

झडपमा परेर ५ आन्दोलनकारी र ७ जना जनपद तथा एकजना सशस्त्र प्रहरी घाइते भएका छन्।

सिके राउतका कार्यकर्ताहरू नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको बताइएको छ ।

आन्दोलनकारीहरूले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतले झडपको क्रममा करिब एक दर्जन रबर बुलेट र १६ सेल अश्रुग्यास प्रहार भएको बताए । प्रदर्शनकारीको तर्फबाट ढुंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट रबर बुलेट प्रहार गर्न बाध्य भएकाे उनकाे भनाइ छ ।

यता, प्रदर्शनकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जना प्रदर्शनकारी घाइते भएको बताएका छन् । झडप अहिले पनि जारी नै रहेकोले राजमार्ग खोलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here