पुस ९, २०७८ । तेह्रथुम — तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरान्हदेखि हिमपात भइरहेको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ भने बसन्तपुरको देउरालीबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक अवरुद्ध भएको छ । जसले दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् ।

बुढाबूढी र बालबालिका घर बाट बाहिर निस्कन सकेका छैनन् । चिसोका कारण बजार क्षेत्रमा मानिसको चहलपहल घटेको स्थानीय छिरिङ शेर्पाले जानकारी दिए ।

मौसममा आएको बदलीसँगै शुक्रबार अपराह्नबाट तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र हिउँले ढाकेको छ । तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परिरहेकाले सवै सडक अवरुद्ध भएको पाँच पोखरीका होटल व्यवसाय उमेश बुढाथोकीले बताए । गुफाबजार गएर फंर्किदै गरेका उनी हिउँले सडक अवरुद्ध भएपछि बीच बाटो चौकीबजार नजिक रोकिएका छन् ।

सडकमा हिउँ जमेकाले बसन्तपुरबाट ताप्लेजुङको साँघुतर्फ गएका सवारी साधनबीच बाटैमा फसेको बुढाथोकीले कान्तिपुरलाई बताए । त्यहाँबाट पूर्वी तराईतर्फ आउँदै गरेका केही यात्रुवाहक सवारी साधनसमेत बाटैमा रोकिएको गुफाबजारका स्थानीय केदार लिम्बुले बताए । बाक्लो हिउँ परिरहेकाले बसन्तपुर-ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको छ ।

धरानबाट ताप्लेजुङको साँघु पुगेर फर्किंदै गरेका यात्रुवाहक र अन्य केही साना सवारी साधन गुफापोखरी आसपास क्षेत्रमा रोकिएका छन् । हिउँले सडक पुरेकाले पैदल हिँड्नसमेत समस्या भएको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here