सर्लाही — जाडो मौसम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेका छन् । बुधबारमात्रै सर्लाहीमा तीन जनाको ज्यान गएको छ । मलंगवा नगरपालिका–६ खुटौनामा परालको घुर ताप्ने क्रममा जलेर एक वृद्धाको र विद्युत् सर्ट भई घरमा आगो लाग्दा कविलासी नगरपालिका–७ सिर्सियामा एकै परिवारका दुई दिदीबहिनीको मृत्यु भयो ।
सिर्सियामा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सर्ट भएर आगलागी हुँदा जोगी महरा चमारकी ८ वर्षकी छोरी लक्ष्मी कुमारी र ३ वर्षकी सोगन्धी कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परालको ओछ्यानमा सुतिरहेको अवस्थामा जलेपछि उनीहरूलाई प्रहरीले जिल्ला अस्पताल पुर्याएको थियो । थप उपचारका लागि काठमाडौं रिफर गरिएकामा बाटैमा ज्यान गएको प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । महराकी पाँच वर्षकी अर्की छोरी सुधा कुमारी स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किएकी छन् ।
आर्थिक अवस्था कमजोर रहेका महराको फुसको घर बर्खामा भत्केको थियो । मर्मतका लागि उनले बाँस ठड्याएका थिए । विद्युत्को मिटर जडान गरिए पनि घरभित्र भने तार लथालिंग थियो । उनीहरू परालको ओछ्यानमा रात बिताउने गर्छन् । प्रहरीका अनुसार तार सर्ट हुँदा ओछ्याएको पराल र फुसको छानोमा सल्केको थियो । ‘बेलैमा होस पुर्याएको भए ज्यान जोगाउन सकिन्थ्यो,’ स्थानीय मनोज यादवले भने । महराको घरसहित लत्ताकपडा, भाँडाबर्तनसमेत जल्दा झन्डै ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, परालको घुर बालेर आगो ताप्ने क्रममा खुटौनामा पनि एक वृद्धाले ज्यान गुमाइन् । बुधबार राति साढे ११ बजेतिर बाटोछेउमा आगो ताप्दा कपडामा सल्किएर ७० वर्षीया नसिर खाँको मृत्यु भएको हो । जाडो बढेपछि तराई–मधेसमा घुर ताप्ने चलन छ । तर सावधानी नअपाउँदा स्थानीयको ज्यानै जोखिममा पर्ने गरेको विगतका घटनाले पनि देखाउँछन् । मलंगवाका क्लिनिक सञ्चालक डा. गुणेश्वर झाले आगो ताप्ने क्रममा वृद्धवृद्धा र बालबालिकाले बढी सावधानी अपनाउनुपर्ने बताए ।
दुई दिनअघि मात्रै सर्लाहीको लालबन्दी र पिपरियामा आगलागी हुँदा लाखौंको क्षति भएको थियो । पूजा कोठामा बालिएको दियोबाट सल्केको आगोले मनोज गुप्ताको दुईतले घर खरानी बनेको थियो । पिपरियामा पनि थ्रेसरबाट धान झार्ने बेलामा अचानक आगलागी हुँदा फुसको घर जल्नुका साथै करिब ६ लाख २० हजार मूल्य बराबरको क्षति भएको थियो ।






