एजेन्सी-हाइटीमा एउटा तेल ट्यांकर विस्फोट हुँदा ६२ जनाको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो विस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
विस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् । दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।
‘विस्फोटमा मारिएका व्यक्तिहरूको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन् । घाइतेहरूको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए ।
विस्फोटपछि पनि दर्जनौँको शव घटनास्थलमा छरिएको थियो । विस्फोटमा कम्तिमा १०० जना घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीयले ट्यांकरबाट चुहिएको तेल उठाउने क्रममा ट्यांकरमा अकस्मात विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ । विस्फोटपछि आगो ट्यांकरमा लागेको थियो ।








