पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष १८ हजार क्वीन्टल धान खरिद गर्ने भएको छ । कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहाका अनुसार केन्द्रबाट आइतबार मात्रै धान खरिदको आदेश तथा त्यसको कोटा प्राप्त भएको छ ।
जस अनुसार यस वर्ष १५ हजार क्वीन्टल सोना मन्सुली र ३ हजार क्वीन्टल जिरा मसिनो धान खरिद गरिने छ । यसपटक सोना मन्सुली धानको खरिद मूल्य प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँ रहेको उनले बताए । यो संघीय सरकारले नै निर्धारण गरेको सोना मन्सु्ली धानको समर्थन मूल्य हो ।
जिरा मसिनोको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्नेछ । समिति कम्पनी शाखा कार्यालय प्रमुख, कृषि ज्ञान केन्द्र प्रमुख, वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि समेत गरी ४ सदस्यीय रहेको छ । समितिको बैठकमा कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य संघले हाल बजारमा रहेको मूल्यबारे आफ्नो राय दिएपछि समितिले जिरा मसिनो धानको खरिद मूल्य तय गर्नेछ ।
कुशवाहाका अनुसार मंगलबारका लागि प्रमुख जिल्ला अधिकारी र स्थानीय खरिद समितिका सबै सदस्यलाई बोलाएर बैठकको तयारीबारे छलफल गरिनेछ । यस्तै आवश्यक प्रक्रिया पूरा गरी पुस १ वा ३ गतेबाट धान खरिद सुरु गरिने उनले बताए ।
जिल्लाका किसानले हालै मात्र धान बाली भित्र्याएको र धेरै किसानको धान सुकी नसकेकाले यस वर्ष धान खरिदमा ढिलाइ नभएको कुशवाहा बताउँछन् । कार्यालयमा पर्सा र बाराका किसानले धान बिक्री गर्न ल्याउँछन् । कार्यालयले धानको खरिद मूल्य निर्धारण गरे लगत्तै निजी क्षेत्रले धानको खरिद मूल्य बढाउने चलन रहेकाले कार्यालयले वर्षेनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु परेको छ ।







