काठमाण्डौं, २६ कार्तिक ।
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नु भएको हो । लोगोमा पार्टीको चुनाव चिन्ह सूर्य र गैंडाले पार्टीको झण्डा बोकेको राखिएको छ । चितवन गैंडाका लागि प्रख्यात भएकाले लोगोमा गैंडा पनि समावेश गरिएको महाधिवेशन प्रचार समितिका संयोजक योगश भट्टराईले जानकारी दिनु भयो । त्यसैगरी पत्रकार सम्मेलनमा पार्टीको मूलनारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं । जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।।’ उल्लेख गरिएको जिंगल पनि सार्वजनिक गरियो । पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा पार्टीका सदस्यहरुले सहयोग स्वरुप उपलब्ध गराउने कम्तिमा एक सय सहयोग उपलब्ध गराउनका लागि क्यूआर कोड सार्वजनिक गर्नु भयो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीमा महासचिव पोखरेलले राष्ट्रिय राजनीतिलाई सही दिशा दिने गरी पार्टीको महाधिवेशन सम्पन्न हुने दावी गर्नु भयो । उहाँले महाधिवेशनबाट पार्टीको नेतृत्व सहमतीमै चयन हुने बताउनु भयो । पार्टीका सबै जिम्मेवार साथीहरुको सोही मानसिकता रहेको उल्लेख गर्दै उहाँले केपी ओलीले नेतृत्व गरिरहेको राजनीतिक ध्रुबलाई सहयोग पुग्ने गरी पार्टीले नेतृत्व सहमतीमै चयन गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो महाधिवेशन केवल नेकपा एमालेका मात्रै नभएर नेशनल पोलिटिक्सलाई सही दिशा दिनका लागि गरिएको महत्वपूर्ण प्रयत्न हुनेछ । यस हिसावले यहाँहरुले बुझिदिनु हुनेछ भन्ने म आग्रह गर्न चाहन्छु । जहासम्म हाम्रो विचारमा समान धारणाहरु छन । हाम्रो नेतृत्वको सन्दर्भमा अनेक साथीहरुले जिज्ञासा राख्नु भएको छ र खासगरी सञ्चार माध्यामका साथीहरुले । म आज तपाईहरुलाई भन्न चाहन्छु–हामी बिल्कुल सहमतीका साथ चयन गर्ने कुरामा हाम्रो देशभरिकै पार्टीका साथीहरुले यही मानसिकता छ । हामी सहमतीका साथ अगाडि बढछौं । र मैले भने–नेशनल पोलिटिक्सको जुन पोललाई एमालेले लिड गरिराखेको छ, त्यो पोललाई प्रभावकारी ढंगले अघि बढाउनका लागि पनि हामीहरु त्यसरी अघि बढछौं ।’
यसैबीच नेकपा एमालेले महाधिवेशनमा पहिलो पटक भित्ते लेखन र कागजको पोष्टर प्रयोग नगर्ने भएको छ । महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले महाधिवेशनमा भित्ते लेखन र कागजको पोष्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिनु भएको हो । त्यसैगरी एमालेले सबै स्थानीय तहमा सम्बन्धित वडा कमिटीको आयोजनामा पार्टी महाधिवेशनको प्रचारका लागि सभा, गोष्ठीलगायतका कार्यक्रमहरु आयोजना गर्नेछ । त्यसैगरी मंसीर ७ गते जिल्ला, प्रदेश र देशका मुख्यमुख्य सहरहरुमा मोटरसाईकल ¥याली आयोजना गरिनेछ । राष्ट्रिय युवा संघ, नेपाल, अनेरास्ववियू र खेलकुद महासंघको आयोजनामा महाधिवेशनको प्रचारका लागि सो मोटरसाईकल ¥याली आयोजना हुने पनि संयोजक भट्टराईले बताउनु भयो । एमालेले महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओली र सञ्चारकर्मीहरुबीच पनि अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । पार्टीको बुद्धिजीवि परिषदले प्रदेश स्तरीय गोष्ठीलगायतका कार्यक्रमहरु पनि आयोजना गर्ने एमालेले जनाएको छ । महाधिवेशन प्रचार कमिटीका संयोजक भट्टराईले भन्नु भयो, ‘हामीले म महाधिवेशनमा कागजको पोष्टर राख्दैनौं । भित्त लेखन गर्दैनौं । यी दुवै काम नहुने व्यहोरा यहाँहरुमार्फत जानकारी गराउन चाहन्छु । महाधिवेशनको प्रचारका लागि पार्टीको सोसल मिडियाहरु, फेसबुक पेज छ । वेबसाईट छ, पार्टीको ट्वीटर छ । यिनै माध्यामलाई बढि प्रयोगमा ल्याउनेछौं । देशका मुख्यमुख्य सहरहरुमा डिजिटल डिस्प्लेको व्यवस्था गरिनेछ । त्यसमा महाधिवेशनको प्रचार सामग्री राखिनेछ । पार्टीको बुद्धिजीवि र वरिष्ठ सञ्चारकर्मीहरुसँग अध्यक्ष कमरेडले अन्तरक्रिया पनि गर्नु हुनेछ । देशभरिनै पार्टीको प्रचार अभियानलाई अघि बढाउन सबै पालिकामा छलफल, गोष्ठीलगायतका कार्यक्रमहरु सम्बन्धित वडा कमिटीले आयोजना गर्ने व्यवस्था गरिएको छ । प्रदेशमा ठूल्ठूला गोष्ठीहरु आयोजना गर्ने काम बुद्धिजीवि परिषदले गर्नेछ । मंसीर ७ गते देशभर मोटरसाईकल ¥याली आयोजना हुनेछ ।’
एमालेले महाधिवेशनमा सञ्चार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुका लागि छुट्टै मिडिया डेस्कको समेत व्यवस्था गर्ने जनाएको छ । आसन्न मंसीर १०–१२ मा चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनमा २ हजार बढि प्रतिनिधिहरु सहभागी हुनेछन । महासचिव पोखरेलले महाधिवेशनमा करिव ८ लाख पार्टी सदस्यहरु सहभागी हुने अपेक्षा गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here