काठमाण्डौं, २६ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको छ ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै शुक्रवार बिहान १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको हो । बारको धर्नाको बाबजुद प्रधानन्यायाधीश जबरा भने करिब ११ बज्नै लाग्दा वैकल्पिक गेटको प्रयोग गरी सर्वोच्च अदालत प्रवेश गर्नुभएको थियो । अधिवक्ताहरु नेपाल बार एसोसिएसनको भवनमा जम्मा भई ब्यानरसहित सर्वोच्चको मुल गेट अगाडी पुगेर धर्ना दिएका थिए । धर्ना दिन जाने क्रममा केही मानिसहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको समर्थनमा नाराबाजी गर्दै नेपाल बार एशोसिएसनको आलोचना गरेपछि केही समय असहज परिस्थिति बनेको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने तीन महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धर्ना दिनुअघि संक्षिप्त सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई न्याय सम्पादन गर्ने र न्याय प्रशासन चलाउने अधिकार नभएको बताउनुभयो । बारको शान्तिपूर्ण आन्दोलन गर्ने नीति रहेकोमा बिहीवार बारले कार्यक्रम गर्न खोज्दा पोडियम र माइक खोसिएको र कानुन व्यवसायीमाथि आक्रमण भएका कारण प्रधानन्यायाधीशलाई अदालत प्रवेश रोक लगाउनेसम्मको कार्यक्रम गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘चोलेन्द्र शमसेर जबरालाई न न्याय सम्पादनमा अधिकार छ न न्याय प्रशासन चलाउनको लागि अधिकार छ । हामी उहाँको निषेधको लागि अगाडी बढ्नेछौँ ।’
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधान न्यायाधीशको सम्बन्धमा संयुक्त राष्ट्रसंघमा पनि उजुरी पठाउन तयार रहेको भन्दै आफुहरु संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहेको बताउनुभयो । बारको भद्र आन्दोलनलाई कमजोरीको रुपमा नलिन उहाँले चेतावनी पनि दिनुभयो । उहाँले भन्नुभयो – ‘भर्खरै युएन सँगपनि हामी कन्ट्याक्टमा छौँ, तपाई प्रधानन्यायाधीशको बारेमा । युएनलाई समेत हामी कम्प्लेन पठाउन तयार रहेका छौँ । हाम्रो भद्र आन्दोलनलाई अन्यथा नसोचियोस् । कमजोरी नठानियोस् भनि चेतावनी दिन चाहान्छु ।’
बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने भन्दै राजिनामा माग्दै आएको छ । शुक्रवार कालोपट्टीसहित विरोधको कार्यक्रम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here