आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइएको छ ।

यमपञ्चकको दोस्रो दिन आज घर घरमा कुकुरको पूजा गरेर मनाइएको हो । आजको दिन कुकुरलाई मिठो–मिठो परिकार खुवाइ, फूलमाला लगाएर पूजा गर्ने प्रचलन रहँदै आएको छ । हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिँदै आइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ७ः१४ बजेपछि कुकुरको पूजा गर्ने साइत दिएको थियो । सोही अनुसार पूजा गरिएको छ । घरको सुरक्षाको निम्ति कुकुर पाल्ने गरिएको छ । नेपालको पहाडी भू–भागमा त एक घर एक कुकुर अनिवार्य जस्तै रहेको देख्न सकिन्छ ।आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखाले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भुमिका निकै नै महत्वपूर्ण मानिने गरिएको छ । विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ ।

 

महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराएको नेपाल प्रहरी केनाइन महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक डा. देउती गुरुङले बताउनुभयो । कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तुहरु भेटेमा पहिलो अनुसन्धानमै कुकुर समावेश हुने भन्दै उहाँले अनुसन्धानमा कुकुरले निकै नै सघाउने गरेको उल्लेख गर्नुभयो । कुनै घटना हुनासाथ सर्वसाधारणले समेत अनुसन्धानमा कुकुरलाई समावेश गराउन माग गर्ने गरेको उहाँले बताउनुभयो ।आफूहरुलाई सघाउने कुकुरहरुको पूजा गर्न पाउँदा खुशी लागेको अनुभूति उहाँले व्यक्त गर्नुभयो । महाशाखाका कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोजि तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको जनाइएको छ । नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातीका कुकुरहरु रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here