कात्तिक, १५, मनाङ
राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताउनुभएको छ ।

सोमबार मनाङ पुग्नुभएकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको बताउनुभयो । जलवायुलाई प्रतिकुल बनाउन नेपालको कुनैपनि भूमिका नरहेको उल्लेख गर्दै उहाँले विश्वका अन्य देशहरुले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको बताउनुभयो । उहाँले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गर्नुभयो । नेपालले विश्वका विभिन्न मञ्चहरुमा जलवायु अनुकुलन कार्यान्वयन गर्नका लागि आवाज उठाइरहेको पनि उहाँले स्मरण गर्नुभयो ।
उहाँले जलवायु अनुकुलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने बताउनुभयो । विशेषगरी शक्ति राष्ट्रहरुको ध्यान जानु जरुरी रहे पनि नेपालले पनि वातावरण र पर्यावरणलाई अनुकूल पारिराख्नुपर्ने बताउनुभयो । कृषि प्रणालीमार्फत् हरियाली प्रवद्र्धन गर्नुपर्नेमा उहाँको जोड छ । राष्ट्रपति भण्डारीले कृषिप्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको मारमा मनाङ जिल्ला परेको उल्लेख गर्दै बाढी, पहिरोका कारणले मनाङमा अपूरणीय क्षति भएको बताउनुभयो ।







