काडमाण्डौं, १५ कात्तिक
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि बिरोध प्रदर्शन गरेको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आईतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरुले आज (सोमबार) पनि बिरोध प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भने पन्छिएको आरोप लगाउनुभयो । देशको परिस्थिती यो अवस्थामा आइपुग्दा समेत राजनीतिक दलहरुले न्यायाधीशहरुको बहुमतलाई अनसुनी गरेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता ढुंगानाले राजनीतिक पार्टीहरु निरपेक्ष भएर र अनसुनी भएर बस्ने हो भने राजनीतिक दलहरुतिर नै आन्दोलन लक्षित हुने बताउनुभयो ।नेपाल बार एशोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले आफ्नो इजलाशमा पेशी नराख्नु राम्रो शुरुवात भएको बताउनुभयो । उहाँले बारले प्रधानन्यायाधीशको राजीनामा मागिसकेकोले अब पछि नहट्ने बताउनुभयो ।उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरु लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।








