भदौ १९ गते ।
काठमाडौं : त्रिभुवन विमानस्थलहुँदै शुक्रबार नेपालगन्ज पुगेर प्रहरीले बरामद गरेको चार किलो बढी सुनको छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ।उक्त सुन विमानस्थलबाट कसरी बाहिरियो भन्ने बारेमा छानबिनका लागि नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले गुरुङको नेतृत्वमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक सदस्य रहेको चार सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए। उनले भने, ‘विमानस्थलबाट सुन कसरी बाहिरियो भन्ने बारे समितिले छानबिन गरेपछि प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया थाल्छाैं।’शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको थियो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए।बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय अमिरलगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगञ्ज पुर्याएका हुन्। बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए।‘उक्त सुन नेपालगञ्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले भने, ‘बिल पनि संकास्पत छ।’ व्यापारीको नाम भने उनले खुलाउन चाहेनन्। ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने, ‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ ।’ सुनचाँदी व्यवसायी संघ, बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले नेपालगञ्जका चारजना व्यापारीले सुन मगाएको दाबी गरे। ‘हामीसँग बिल सबै छ। प्रहरीले अनाहकमा अवैध भन्दै समातेको छ’, जसगढले भने। उनले बैध सुन भए किन जुत्तामा लुकाएर ल्याएको भन्ने प्रश्नको भने जवाफ दिन सकेनन्। अध्यक्ष जसगढ राति नै प्रहरी कार्यालयमा पुगेका थिए। पक्राउ परेका विश्वकर्मा र खातीले पनि नेपालगञ्जका व्यापारीलाई सुन ल्याइदिएको दाबी गरेका छन्।
५ मिनेट पहिले मात्र पुगेको थियो सूचना
श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगञ्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो। प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरेको बताए ।‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो ।’ प्रहरीका अनुसार अमिरलगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो । जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ।








