अखिलेश कुमार यादव गौर- राष्ट्रिय युवा संघ नेपालले रौतहट जिल्लाको सदरमुकाम गौरमा विरोध प्रर्दशन गरेको छ ।
अध्यादेश चाहिदैन,पार्टी फुटाउन पाइदैन भन्ने नाराका साथ केपी ओली निकट रहेको युवा संघले बिरोध र्याली तथा मोटरसाइकल प्रदर्शन गरेको छ ।
गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि युवा संघ रौतहटमा आबद्ध रहेको नेताहरुले सदरमुकाममा मोटरसाइकल र्याली तथा प्रदर्शन गरेको हो । सरकारले नेकपा पार्टीलाई फुटाउने उदेश्यले देशमा ल्याएको दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा प्रदर्शन गरेको केपी ओली निकट युवा संघको केन्द्रिय सदस्य रुपेश पटेलले बताउनु भएको छ ।
प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए । युवाहरुले केपि ओली जिन्दावाद,परमादेश सरकार मुर्दावाद,नेकपा एमाले जिन्दावाद,अध्यादेश चाहिँदैन्,पार्टी फोरन पाइदैन,विदेशी दलाल मुर्दावाद,लाल गद्धार मुर्दावाद जस्ता नारा लगाएको युवा संघ का रुपेश पटेलले जानकारी गराएका हुन् ।
युवा संघले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन गर्ने क्रममा रौतहटमा पनि गरेको छ ।
राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य रुपेश पटेलको नेतृत्वमा युवाहरुले मोटरसाइकिल रैली निकालेका हुन् । गौर नगरको विभिन्न भागमा मोटरसाइकिल रैली जुलुस प्रदर्शन गर्दै विपि चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो ।
कोणसभामा बोल्दै वक्ताहरुले दल विभाजनलाई बढावा दिने किसिमले ल्याएको अध्यादेश खारेज हुनुपर्ने बताए । कोण सभामा बोल्दै युवा नेताहरु पवन पटेल,रुपेश पटेल,कनिस पटेल र शैलेन्द्र साहले सुकुमवासी आयोग खारेज को विरोधमा र राजनितिक अस्थिरता ल्याएको विरोधमा ,संसद अधिवेशन अन्त्य गरि परमादेश बाट पार्टी फुटाउन अध्यादेश ल्याएकोमा घोर भतर्सना तथा विरोध गरेका थिए ।