काठमाडौं। इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजन अन्तर्गत आफ्नो पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० गोलले पराजित गरेको छ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिवार भएको खेलमा घरेलु टोलीले पहिलो हाफको २७औं मिनेटमा अग्रता लिएको थियो। चेल्सीका लेफ्ट ब्याक मार्कोस अलन्जोले फ्रीकिक मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
आर्सनलका पूर्व कप्तान तथा प्रिमियर लिग लेजेण्ड प्याट्रिक भिएरराको प्रशिक्षणमा रहेको क्रिस्टल प्यालेसले ४०औं मिनेटमा दोस्रो गोल खान पुग्यो। यस पटक भने चेल्सीका मिडफिल्डर क्रिस्टियन पुलिसिचले गोल गर्न सफल भएका थिए।
पहिलो हाफमा २-० गोलले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा अर्को गोल थप्यो। युरोपियन च्याम्पियन्स चेल्सीका लागि डेब्यू गरेका ट्रेभो चालोबाहले खेलको ५८औं मिनेटमा शानदार गोल गर्दै चेल्सीलाई शानदार विजयी शुरुवात दिलाउन सफल भएका थिए।