पर्सा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी फोरम (एनवाईईएफ) र वीरगञ्ज बैंकर्स ग्रुपले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
नेपाल युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले एनवाईईएफले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र कोरोना संक्रमणको बेला रगतको अभावको कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले वीरगञ्जमा मात्रै नभई देशमा विभिन्न जिल्लाहरुमा एनवाईईएफले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
वीरगञ्जस्थित महाविर टिवडेवाला धर्मशालामा आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ६० जनाभन्दा बढी व्यक्तीले रक्तदान गरेको बैंकर्स ग्रुपका अध्यक्ष नितेस खड्गीले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत सुनील यादव प्रमुख अतिथि रहेको सो रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ, नारायणी अस्पतालका डा. निरज सिंह र डा, उदयनारायण सिंहलगायत वीरगञ्ज बैंकर्सहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र वीरगञ्ज ब्लड बैंकले प्राविधक सहयोग गरेको थियो भने वीरगञ्ज युवा समाज, भोलेन्टियर समूह र इम्प्रोभिङ वीरगञ्जले सहकार्य गरेका थिए । रक्तदान कार्यक्रमको सहजिकरण बैंकर दिवस सिंह ठकुरीले गर्नुभएको थियो ।