साउन १९, काठमाडौं  । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले अर्थ मन्त्रालयलाई लिखित जवाफ पठाउँदै सर्वोत्तम सिमेन्ट सूचीकृत नभएकोले गर्दा जे गरेपनि हुने आशय व्यक्त गरेका छन् ।

मन्त्रालयले अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर किनेको विषय बाहिर आएपछि गत बुधबार तीन दिने स्पष्टिकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टिकरण पत्रमा ‘सञ्चारमाध्यममा आएको विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ भन्ने उल्लेख थियो । उक्त विषय सञ्चारमाध्यममा आएपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको थियो ।

जवाफमा अध्यक्ष ढुंगानाले सर्वोत्तम सिमेन्ट सूचिकृत नभएको र शेयर खरिद बिक्री बोर्डको क्षेत्राधिकार भित्र नरहेको उल्लेख छ । बोर्डमा धितोपत्र दर्ता नगरेका र नेप्सेमा सूचिकृत नभएका कम्पनीको शेयर खरिद बिक्री भने ओटिसी बजारमार्फत् हुने अवस्था रहेको स्मरण गराएका छन् ।

उक्त बजारमा ओटिसी बजारसम्बन्धी विनियमावलीमा भएका व्यवस्था बमोजिम कारोबार हुने गरेको समेत अर्थलाई जानकारी गराएका छन् । उक्त बजारमा कारोबार हुने कम्पनीले आफ्नो धितोपत्र बोर्डमा दर्ता तथा सूचिकृत गर्नु नपर्ने र कुनैपनि किसिमको सूचना तथा विवरण प्रवाह गर्नुपर्ने व्यवस्था नभएको भन्दै ओटिसी बजारमा कारोबार हुने कम्पनीको सुचना तथा जानकारीमा बोर्ड, बोर्ड सदस्य तथा कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा कुनै पहुंच नहुने देखिएको जवाफमा उल्लेख छ । सार्वजनिक नभएका धितोपत्र र सो को मूल्य निर्धारणसम्बन्धी गतिविधिहरु बोर्डको नियमन परिधिमा पर्ने कानुनी व्यवस्था नरहेको अध्यक्ष ढुंगानाले मन्त्रालयलाई जानकारी गराएका छन् ।

अध्यक्ष ढुंगानाले उक्त व्यवस्था अनुसार सर्वोत्तम सिमेन्ट नाम गरेको कम्पनीलाई बोर्डले अनुमति प्रदान नगरेको धितोपत्र व्यवसायी नभएको तथा सूचिकृत संगठित संस्था पनि नरहेको दाबी गरेका छन् । पछिल्लो समय केही अनलाइन मिडियाहरुमा सर्वोत्तम सिमेन्टको ओटिसी बजार कारोबारमा बोर्ड अध्यक्ष तथा सदस्यलाई जोडेर समाचारहरु प्रकाशन भएको भन्दै उक्त समाचारमा रहेको दाबी हेर्दा धितोपत्रसम्बन्धी ऐन, २०६३ र नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४ मा भएका व्यवस्थाहरुको आधारमा सो दाबीहरु तथ्यहिन र भ्रमपूर्ण रहेको अध्यक्ष ढुंगानाको दाबी छ ।

प्राथमिक बजारमा शेयर निष्काशन गर्ने कम्पनीले नेपाल स्टक एक्सचेन्जमा शेयर सुचिकरण गराएपश्चात मात्र उक्त कम्पनी सूचीकृत कम्पनी हुने व्यवस्था रहेको भन्दै सर्वोत्तम सिमेन्टले साधारण शेयरको प्राथमिक निष्काशनका लागि बोर्डमा हालसम्म आवेदन नदिएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । बोर्डले उक्त कम्पनीलाई कुनैपनि धितोपत्र व्यवसाय सम्बन्धी अनुमति प्रदान नगरेको हुनाले यो कम्पनी बोर्डको नियमन परिधिभित्र नरहेको समेत जानकारी गराएको छ ।

‘नवनियुक्त अर्थ मन्त्रीज्यूको पूँजी बजारको विकास तथा विस्तारप्रति सकरात्मक धारणाहरु रहेको र धितोपत्र बजारका लगानीकर्ता थप विश्वस्त भएको देखिन्छ’-अध्यक्ष ढुंगाना

बोर्डको कर्मचारी सेवा शर्त नियमावली २०६८ को नियम २ (क) मा परिवार भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैले पालन पोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्ने र सो शब्दले पुरुष कर्मचारीको हकमा निजको बाबुतर्फको बाजे, बज्यै तथा महिला कर्मचारीको हकमा निजको सासु, ससुरासमेतलाई जनाउने व्यवस्था रहेको जानकारी गराएको छ । यस व्यवस्थाले बिबाहित छोरीलाई परिवारभित्र समावेश नगरेको हुँदा निजले गर्ने कुनैपनि निर्णयमा बाबुको हक तथा नियन्त्रण नहुने हुनाले शेयर खरिद बिक्रीमा निज विवाहित छोरीको निजी निर्णय लिने हक रहने र स्वतन्त्र रुपले कार्य गर्न सक्ने देखिएको उल्लेख छ ।

विवाहित छोरी एकाघर परिवारमा नपर्ने र हाल निज बुबासंगै सगोलमा नरहेको जानकारी बोर्डले पाएको जवाफमा उल्लेख छ । शेयर खरिद बिक्रीमा कानुनी हिसाबले निज विवाहित छोरी स्वतन्त्र रहेको जवाफमा लेखिएको छ । साथै सर्वोत्तम सिमेन्ट कम्पनी बोर्डको नियमन दायरामा नरहेको हुनाले बोर्ड अध्यक्षले आफ्नो पद र नाम दुरुपयोग गरेको भन्ने समाचारहरु तथ्यहिन र भ्रमपूर्ण रहेको देखिएको उल्लेख छ ।

अध्यक्ष ढुंगानाले आफू कारबाही बाट बच्नको लागि अर्थमन्त्री जनार्दशन शर्माको प्रशंसा समेत गरेका छन् । मन्त्रालयमा पठाएको जवाफमा ‘नवनियुक्त अर्थ मन्त्रीज्यूको पूँजी बजारको विकास तथा विस्तारप्रति सकरात्मक धारणाहरु रहेको र धितोपत्र बजारका लगानीकर्ता थप विश्वस्त भएको देखिन्छ’ उल्लेख छ । जवाफमा मौद्रिक नीति र पूँजी बजार, प्राथमिक निष्काशन, दोस्रो बजार कारोबार तथा नेप्से परिसुचक सम्बन्धी कुरालाई पनि जोडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here