साउन १८,काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारीमाथि हातपात गरेको आन्दोलनकारीले बताएका छन् ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले कर्मचारीको हकहितमा काम नगरेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि नपाएको कोभिड—१९ जोखिम भत्ता पाउनुपर्ने, औषधी उपचार भत्ता, सेवा विस्तार भत्ता पाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीले अस्पताल सुधारको माग गर्दै आएका छन् । कर्मचारीले डा.गौतमले गैरकानुनी रूपमा स्वास्थ्य सामग्री प्रक्रिया अगाडि बढाएको आरोप लगाएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले अस्पतालमा कार्यरत कर्मचारीले खाइपाई आएको सुविधा लामो समयदेखि नपाएको बताए । उनले भने, ‘कोभिड भत्ता, सेवा विस्तार भत्ता, औषधि खरिद खर्च, रेडियोलोजी तथा प्याथोलोजी हाजार्ड भत्ता विगत लामो समयदेखि पाउन सकेका छैनौं । तर, प्रमुख प्रशासकीय अधिकृतले म तपाईँहरूको माग सम्बोधन गर्न सक्दिनँ जे गर्न सक्नुहुन्छ गर्नुस्, भन्नुभयो ।’
वीरका कर्मचारीले माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।