साउन १८, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटना दुःखद र संवेदनशील रहेको भन्दै सत्यतथ्य छानविनका लागि समिति परिचालित भइसकेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री खाणले महाकाली नदी तर्ने क्रममा बेपत्ता रहेका जयसिंह धामीको खोजी कार्य जारी रहेको र दोषीको पहिचान गर्न छानविन समिति घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिए । ‘अहिले पनि दुवैतर्फबाट खोजी कार्य जारी छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समिति पनि घटनास्थलतर्फ जाँदैछ । १० दिनभित्र सो समितिले सत्यतथ्य पेस गर्नेछ’, गृहमन्त्री खाणले भने ।
यस अघि पनि गृहमन्त्री खाँणले जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएका थिए । चौतर्फी विरोध भएपछि उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति समेत गठन गरेको छ ।
आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो । गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको समयसीमा दिएको छ ।