साउन १८,डडेलधुरा । डडेलधुरामा किसानलाई आधुनिक औजार वितरण गरिएको छ । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका हुन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।
आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने १०० परिवार, बेमौसमी तरकारी उत्पादन गर्ने ५० परिवार र बहुउद्देश्यीय नर्सरीका १० गरी ३९० परिवारलाई समूहगतरुपमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।
गाउँपालिका र युएनडिपीको सहयोगमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल (सिड्स नेपाल) को सहजीकरणमा किसानलाई प्रविधि हस्तान्तरण गरिएको हो ।
कोभिड प्रभावित कृषकलाई सहज कृषि तथा पशुपालन, उत्पादन वृद्धि र व्यावसायिकताका लागि मागका आधारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो । दिगो आयआर्जजका लागि प्रविधिले महत्वपूर्ण टेवा पुगाउने युएनडिपीका सुदूरपश्चिम प्रमुख वैजन्ती गिरी सिंंहले बताइन् ।