साउन १५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।
जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले अभियानमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाइने बताउनुभयो ।
बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो । यसैबीच जसपाले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन ।