साउन १३, काठमाडौं ।सरकारले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगको पदाधिकारी छिट्टै नियुक्ति गर्ने भएको छ ।

सोमबार सरकारले यथाशीघ्र आयोगको पदाधिकारीे पदपूर्ति गर्ने जानकारी शिक्षा सचिव रामप्रसाद थपलियाले इमेज खबरलाई जानकारी दिनुभएको छ ।

करिब १० महिनादेखि आयोग पदाधिकारी विहीन हुँदा शिक्षक भर्ना, अध्यापन अनुमति पत्र, शिक्षक बढुवालगायतका प्रकृया रोकिएको छ ।

आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै शिक्षकहरुले समेत दबाब बढाइरहेको बेला शिक्षा मन्त्रालयका सचिवको यस्तो प्रतिवद्धता आएको हो । शिक्षकहरुले सोमबारमात्र प्रधानमन्त्री शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवा, गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सरकार सञ्चालका लागि गठित सत्ताधारी दलको कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्कालगायतलाई एसएमएस पठाएर आयोगमा पदपूर्ति गर्न अनुरोध गरेका छन् ।

तत्कालीन लोकसेवा आयोगका प्रमुख उमेश प्रसाद मैनालीको अध्यक्षतामा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालिन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत पुसमा आयोगमा पदाधिकारी नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरे पनि तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्ना मानिस नपरेको भन्दै पदाधिकारी नियुक्ति रोक्नु भएको थियो ।

उहाँले सिफारिस सच्याउन दबाब समेत दिनुभएको थियो । त्यति बेला अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यमा नन्दकुमारी महर्जन र डा. डिल्लीराम रिमालको नाम सिफारिस गरिएको थियो ।

यसैबीच आयोगमा पदाधिकारी नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाले शिक्षा सचिव थपलियालाई दबाब दिएको भन्ने खबरको सचिव थपलियाले खण्डन गर्नुभएको छ ।

‘कोही कसैसँग कुनै होटलमा भौतिक रुपमा भेट भएको वा टेलिफोनबाट मलाई दबाब आएको छैन । कहीँ कतै त्यस्तो प्रचार भएको छ भने गलत हो । सरकारले विधि र प्रकृयाबाट आयोगमा पदपूर्ति गर्छ’ उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here