साउन ११, काठमाडौं । उर्जा, जलस्रोत र सिञ्चाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विद्युतमा विषेश सहुलियत दिने उल्लेख गरेकी छिन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनी रहेका निश्चित समुदायलाई निःशुल्क विद्युत दिने उल्लेख गरिन् ।

मन्त्री भुसालले भनिन्– ‘एउटा आधारभूत तहबाट तल रहनेहरूलाई निःशुल्क विद्युत दिनुपर्छ । म सामान्य एउटा गृहकार्य गरिरहेको छु । पछि यसबारेमा मैले जानकारी गराउनेछु । त्यो तहका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ । एकातिर विद्युत उत्पादन भएको छ भन्छौँ हामीहरू, फेरि हाम्रोमा बिद्युतको दर महङ्गो छ । मैले जानेको अर्थशास्त्र जति मात्रामा उत्पादन बृद्धि हुन्छ लागत मात्रा कम हुन्छ । उपभोक्ताको रुपमा मैले प्रयोग गर्दा र प्रतिनिधि सभाको अघिल्लो बैठकमा मैले बजेटमाथि टिप्पणी गर्दा पनि बोलेको थिएँ । उत्पादन बढेपछि सस्तो हुनुपर्ने हो तर हाम्रोमा त उत्पादन बढेपछि मूल्य पनि बढ्ने डर छ ।’

उनले एकातिर बिद्युत उत्पादन भएर खेर जाँदैछ भन्ने र अर्कोतिर जनतालाई सहुलियत दिन नसक्ने स्थितिको पनि समाधान गर्ने उल्लेख गरिन् । उनले विद्युतको दरमाथि पुनर्विचार गरेर अलि सस्तो बनाउने पक्षमा आफू रहेको र त्यसका लागि आफुले अध्ययन गरिरहेको समेत बताइन् ।

मन्त्री भुसालले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताइन् । जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुशासनलाई आफूले पहिलो प्राथमिकतामा राख्ने उनको भनाई थियो ।  उनले सुशासन कायम गर्ने सन्र्दभमा कुनै सम्झौता नहुने, सुशासन कायम नभए आफ्नो लागि सह्य नहुने पनि उल्लेख गरेकी छन् ।उनले विद्युत आयात निर्यात गर्ने कुरासँग आफू सहमत भएको बताउँदै रणनीतिक हिसाबले नेपालमा उत्पादन भएको बिद्युत नेपालमै खपत गर्नुपर्ने कुरामा जोड दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here