साउन ११, काठमाडौं । निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीकाे आधिकारिकता विवादमा सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै दिएको निवेदन अस्वीकार गरेको छ ।निवेदन दिएपछि नै आयोगले इजलासबाट उक्त निर्णय गरेको भन्दै आयोगले निवेदन अस्वीकार गरेको हो ।सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले निर्वाचन आयोगमा सनाखत रोक्न भन्दै निवेदन दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अध्यक्ष ठाकुरसहितका नेताहरु निवेदनका लागि आयोगमा पुगेका थिए । तर उक्त निवेदन अस्वीकृत भएको छ ।
यतिबेले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत भइरहेको छ । पछिल्लो समय जसपामा पार्टी आधिकारिकताको विवाद चुलिएकाे छ । अध्यक्षद्वरा महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये जसकाे पक्षमा बहुमत हुन्छ, उसैले पार्टीकाे आधिकारिकता पाउने छन् ।अध्यक्ष यादव पक्षमा बहुमत रहेकाले उनले पार्टीको आधिकारिकता पाउने सम्भावना बलियो छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दोस्रो पटकको संसद विघटन सर्वोच्चले बदर गरेपछि ठाकुर पक्षका केही सांसद तथा नेताहरू समेत उपेन्द्र पक्षमा नै आएका छन् ।