साउन१०, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा पटक पटक ‘मुड्की’ काफी रहेको बताए । उनले आफ्ना नेता, कार्यकर्तामाथि हातपात गर्ने, विरोधी र पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनाको मुड्की काफी रहेको चेतावनी दिए ।
सरकारलाई एमालेको नेताहरु भ्रष्टचारी छन् भने प्रमाणित गरेर देखाउन पनि उनले चुनौती दिएका छन् । १० अर्बको भ्रष्टाचार गर्ने विजयकुमार गच्छादारलाई छाडेको प्रसंग उप्काउँदै उनले एमालेको कहीँ भ्रष्टाचारी भए प्रमाणित गरेर देखाउन चुनौती दिए ।
उनले भने, ‘विजयकुमार गच्छदारलाई १० अर्बको भ्रष्टाचारमा १० लाख धरौँटी दिएर छुटाउनेविरुद्ध सशक्त आन्दोलन गर्छ । हिम्मत छ भने एमालेका समाएर देखाउ, कहीँ भ्रष्टाचारी छन् भने प्रुभ गरेर देखाउँ । काँक्रो चोरेर अदुवा मुखमा लगाएर एमालेको टाउँकोमा लगाई स्याल हुँइया गर्ने दिन सकिए ।’
आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्नेलाई पहिले मुखले तह लगाउने र नमानेको खण्डमा बाँकी नराख्ने पनि उनको चेतावनी छ । ‘हाम्रा नेता कार्यकर्तामाथि कसैले आक्रमण गर्यो भने मुखले सम्झाउँछौँ,’ उनले भने, ‘यदि मुखले सम्झाउँदा मानेन भने हात खुट्टाले पनि सम्झाउनु पर्ने दिन हुन्छ । हात खुट्टाले सम्झाउनुपर्ने दिन नआउँला ।’
अहिले पार्टी फुटाउने अध्यादेश जारी, राष्ट्रपतिमाथि महाभियोग लगाउने भन्ने सन्दर्भमा भलो नहुने पनि उनको चेतावनी छ । उनले यदि त्यसो गरिए आगो बालिने पनि बताए ।
युवासंघका इन्चार्ज समेत रहेका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी रहेको चेतावनी पनि दिएका छन्। ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’
युथफोर्सले देउवा सरकारविरुद्ध नलड्ने र ओली सरकारले गरेका राम्रा कामअघि बढाउने काम गर्यो भने सहकार्य गर्न तयार रहेको पनि उनले बताएका छन् । यदि त्यसो गरेको अवस्थामा आफूहरु रचनात्मक बन्न तयार रहेको पनि उनले सुनाए ।
यसैगरी आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने पनि चेतावनी दिएका छन् ।‘बुद्धिजीवीविरुद्धको संगठन होइन । बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने,’ उनले भने ।
युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन पनि नभएको उनले बताए । विशेषतः युथफोर्स नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको समेत प्रष्ट्याए ।