साउन ९, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र सबैजसो सांसदहरु मन्त्रीका आकांक्षी बनेको भन्दै यसले आफूलाई तनाव भएको बताएका छन् ।शनिबार पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीका लागि सबैतिरबाट आफूमाथि दबाब आइपरेको बताएका हुन् ।पार्टीका सबैजसो सांसदहरु मन्त्री चाहियो भनेर आफूकहाँ आउने क्रम बढेको बताउँदै उनले भने, ‘अहिले हामीले मन्त्री पायौँ भने ७ जनासम्मलाई बनाउन पाउने हो । तर यहाँ सबैलाई मन्त्री चाहिएको छ । म तीन-चार दिनदेखि निकै तनावमा छु । सके त मैले ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ नि, तर याे मिल्दैन ।’मन्त्री पद पाए मात्रै नेतृत्वलाई राम्रो भन्ने नत्र सराप गर्ने प्रवृत्ति बढेको पनि उनले सुनाए । ‘मन्त्री या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ,’ उनले भने, ‘हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्नेमै केन्द्रित छ ।’

यस्तो प्रवृत्तिले पार्टीको हित नगर्ने बताउँदै अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यको आदर्श व्यक्तित्वबाट पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्ने बताए ।

साथै उनले अहिले आफूहरुको सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भैरहेको पनि बताए । संसद विघटनविरुद्धको संघर्षमा आफूहरुले जितेपछि निवर्तमान प्रधानमन्त्री केपी ओली छटपटाएको सुनाउँदै अहिले पनि सत्ता गठबन्धनलाई टुटाउने प्रयास कतै न कतैबाट भैरहेको बताए ।

उनले भने, ‘गठबन्धन टुटाउने प्रयास अहिले पनि जारी छ, हामी बचाउने प्रयासमै छाैँ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिँदै छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here