साउन ८, कंचनपुर ।धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए । ‘मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्न समेत पछि पर्दैनन्,’ कार्यालय प्रमुख शाहले भने, ‘माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदा समेत पुग्दैन ।’
उनले कञ्चनपुरका ९ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिए ।शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । कञ्चनपुरमा मलखाद भारतबाट अवैध रूपमा आयात गरेर महंगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ ।कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटक–पटक कृषि सामग्रीमा धाउँदा पनि नपाएको पीडा सुनाए ।