काठमाडौं, साउन ६। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।मुस्लिम समुदायको ठूलो चाडका रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ ।राष्ट्रपतिद्वारा जारी सन्देशमा “यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।” उल्लेख छ ।राष्ट्रपतिले कोरोना सङ्क्रमणबाट बचेर सावधानीका साथ यो पर्व मनाउनु हुने विश्वास पनि व्यक्त गरेकी छन्। नेपाल सरकारले यस पर्वको अवसरमा बुधबार राष्ट्रिय बिदा मनाउने निर्णय गरेको छ ।यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामना सन्देशमा सबै नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । उनले कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै यस महान् पर्वलाई सजगताका साथ मनाउन हुन आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन्।