साउन ६, राजविराज । नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ । सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । चन्द्र नहरको बाँध भत्केर ती वडाका घर घरमा दुई/तीन फिटसम्म पानी जमेको उनले जानकारी दिए ।

सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा सप्तकोसी नगरपालिकाका जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताए ।

बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको उनको भनाई छ । नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको स्थानियवासी दिनेश शर्माले बताए ।

विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पुरयाएको थियो ।यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले रेड खबरलाई  जानकारी दिएका छन् ।दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here