साउन ४,काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमपाल टोलीको कप्तान र मार्की प्लेयर घोषणा गरेको छ ।

गतवर्ष खेलाडी ट्रेडको नियमअनुसार काठमाडौं किंग्सले कप्तान सोमपाल कामीलाई चितवन राइनोज पठाउँदै चितवन टाइगर्सका दीपेन्द्रसिंह ऐरीलाई टोलीमा भित्ररयाएको थियो । यसअघिका संस्करण सोमपालले काठमाडौंबाट खेलेका थिए । सोमपालले पहिलोपटक चितवनबाट खेल्दै छन् । यसअघि चितवनको कप्तानी पृथु बाँस्कोटाले गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा सोमपाल फ्रेन्चाइज लिगमा कप्तानीको राम्रो अनुभव छ । ‘मलाई नेतृत्वको जिम्मेवारी दिएकोमा टाइगर्स व्यवस्थापनलाई धन्यावाद ।

म कप्तानी गर्न निकै उत्साहित छु । म यस भूमिमा मज्जा लिँदै चुनौतीको सामना गर्नेछु’, सोमपालले कप्तानमा नियुक्त भएपछि भनेका छन् । चितवन टाइगर्सकी सञ्चालन निर्देशक विनिता भट्टराईले सोमपालको नेतृत्वमा क्षमता रहेको भन्दै खुसी व्यक्त गरेकी छन् । ‘सोमपाल विश्वस्त र आत्माविश्वासी छन् । उनीसँग अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग टी–१० र टी–२० लिगको अनुभव छ । उनको नेतृत्व एउटा उदहारण बन्न सक्छ’, विनिताले भनेकी छन् ।

सोमपालले नेपाली फ्रेन्चाइज लिगमा पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर र धनगढी प्रिमियर लिगमा टिम चौराह धनगढीको कप्तानी गरिसकेका छन् । सोमपालले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेट पूरा गरिसकेका छन् । सोमपालसँग टी–१० लिग आबुधाबी र टी–२० क्यानडा अनुभव छ । सोमपालले २०१९ मा टी–२० क्यानडा विनिपिग हक्स र २०२१ मा टी–१० मराथा अरेवियन्सबाट खेलेका थिए । सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

ईपीएल असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) टियु क्रिकेट मैदान काठमाडौंमा हुने तालिका छ । कोरोना महामारी अघि ईपीएल चौथो संस्करण सर्दै आएको थियो । चितवन टाइगर्सले गतवर्ष विदेशी खेलाडीमा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ, सिंगापुरका टिम डेविड र इंग्लयान्डका अलराउन्डर जेम्स फुलरको नाम सार्वजनिक गरेको थियो । चितवनमा सोमपाल कामी, सन्दीप सुनार, साहब आलम, दीलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खड्क बोहरा स्वदेशी खेलाडीका रूपमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here