साउन ३, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्री केपी ओलीले पटक–पटक संसद् विघटन गरेर मुलुकलाई दुर्घटनामा धकेलेको आरोप लगाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेर गलत गरेको बताएका हुन् । ओलीको कदमले मुलुकमा दुर्दशा निम्तिएको दाहालको टिप्पणी छ ।दाहालले प्रधानमन्त्री नियुक्ति प्रक्रियाभित्र केही अस्वाभाविक परिघटना भएको उल्लेख गरे । प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत भएको भन्दै दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी व्यक्त गरे । उनले भने, ’शान्ति प्रक्रियामा आएपछि हरेक पटक आउने र जाने प्रधानमन्त्री साइडबाइ साइड बस्ने हुन्थ्यो र शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर अहिले त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुन आवश्यक ठान्नु भएन ।
देउवाको सपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री ओली उपस्थित नभएको दाहालले असन्तुष्टी व्यक्त गरेका हुन् । निवर्तमान प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले संसद्मा बोलेको भए आफू सुन्न चाहेको दाहालले बताए ।
दाहालले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।
एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारे ।