काठमाडौँ, असार 30//नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले तुरुन्तै भावि प्रधानमन्त्री देउवासँग सरकारको स्वरुपका बारमो ठोस छलफल गरेपछि मात्रै माओवादी केन्द्रका तर्फबाट मन्त्रि बन्नेहरुको नाम टुंगो लगाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘आज नै प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त हुनुहुने र उहाँको सपथ ग्रहण गरेर मन्त्रीपरिषद् समेत गठन गरेर अगाडी बढाउने सन्दर्भमा हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै भावि प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयहरुमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपको बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई अगाडी बढाउन पहल गर्ने निर्णय पनि गरेको छ । नामको बारेमा अहिले छलफल भएन पहिला आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कतिजना समावेश गर्ने, कुन कुन पार्टीहरु समावेश आजै हुने भन्ने बारेमा एकपटक छलफल गरेपछि मात्रै त्यसबारेमा निर्णय गर्नु उपयुक्त हुन्छ भन्ने भएकाले हामीले अहिले नै नाम बारेमा प्रवेश गरेका छैनौँ ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसलाको रुपमा लिदैँ स्वागत गरेको छ । फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको र स्वेच्छाचारिता र निरंकुशताको नियन्त्रण तथा अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष बैठकले निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रतिगमन विरोधी संघर्षका क्रममा आफुहरुले गरेका प्रतिवद्धता पुरा गर्न इमान्दारपूर्वक अघि बढ्ने संकल्प गरेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘आज हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले हिजो सर्वोच्च अदालतले गरेको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसलाको रुपमा लिदैँ स्वागत गरेको छ ।

यो फैसलाले संविधान र लोकतन्त्रको रक्षा र स्वेच्छाचारिता र निरंकुशतन्त्रको नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालेको छ । यो प्रतिगमन विरोधी संघर्षका क्रममा संविधान र लोकतन्त्रको रक्षाको निम्ति भएको यो संघर्षको क्रममा हामीले संविधान र लोकतन्त्रको पक्षमा आफुलाई प्रस्तुत गरिरहने क्रममा जे प्रतिवद्धताहरु व्यक्त गरेका छौँ । व्यवहारमा ति प्रतिवद्धताहरु प्रति पूर्ण इमान्दार र निष्ठावान भएर अगाडी बढ्ने संकल्प समेत गरेको छ । र अब बन्ने सरकारलाई पनि त्यो दिशातर्फ अगाडी बढाउन भुमिका खेल्ने निष्कर्ष पनि निकालेको छ ।’

माओवादी केन्द्रले सबै राजनीतिक पार्टीहरुलाई आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्नका लागि राष्ट्रिय सहमतीका साथ एकतावद्ध भएर अगाडी बढ्न पनि अपिल गरेको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो – ‘संविधान र लोकतन्त्रको पक्षमा अदालतको फैसला आएपछि र त्यो कार्यान्वयनको प्रक्रिया अगाडी बढ्ने कुरा सँगसँगै सबै राजनीतिक पार्टीहरुलाई, सबै शक्तिहरुलाई राष्ट्रिय सहमतीका साथ र यत्रो ऐतिहासिक परिवर्तनको रक्षा र त्यो ऐतिहासिक राजनीतिक परिवर्तनमार्फत् सामाजिक आर्थिक रुपान्तरणको दिशातर्फ देशलाई लैजानको निम्ति र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नका निम्ति एकतावद्ध भएर अगाडी बढ्न अपिल पनि गरेको छ ।’

बैठकले प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरु, नागरिक आन्दोलन, कानुन व्यवसायीहरु, बुद्धिजिवीहरु, पत्रकारहरु, सबै जनवर्गिय संगठनहरु, सामाजिक संघ संस्थाहरु र आम जनसमुदायलाई बधाई तथा धन्यवाद व्यक्त गरको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here