जनकपुरधाम,२७ असार// प्रदेश २ सरकारले रातो किताबमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । रातोकिताब संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि
प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
आइतबार प्रदेशसभा बैठक सुरु हुनासाथ एमाले र मोओवादी केन्द्रका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । नेकपा एमालेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाए । ‘बजेट कुन ध्येयबाट आएको छ । प्रदेश सरकारको बजेट जिल्ला विकास समितिकोभन्दा पनि तल्लो स्तरको छ । बजेट प्रदेशको नभएर एउटा नगरपालिका र एक निर्वाचन क्षेत्रमा सीमित छ’, उनले भने, ‘जनताको अधिकारमाथि कुठाराघात भएको छ । बजेटले प्रदेशको विकास सम्भव छैन ।’ प्रदेश सरकारले प्रकाशित गरेको रातोकिताब नभएर ब्ल्याकबुक भएको टिप्पणी गरे । बजेट सुधार नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने उनले चेतावनी दिएका छन् ।
प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रदेश सांसद दिलिप साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्न ल्याएको आरोप लगाए । ‘प्रदेश सरकारको रातोकिताब मन्त्रीले आफ्ना योजनाहरुले मात्रै भरेका छन्,’ सांसद साहले भने, ‘मन्त्रीको मात्रै योजना राखिएको यो कालो बुक हो ।’ अर्थमन्त्रीले भ्रष्टाचार गर्ने शीर्षकहरुमा मात्रै बजेट आफ्ना निर्वाचन क्षेत्रमा राखेको आरोप लगाए । समानुपातिक र सन्तुलित ढंगले ६४ वटै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्न प्रदेश उनले माग गरेका छन् । मन्त्री केन्द्रित बजेट मान्य नहुने बताउँदै समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने उनले बताए ।
विपक्षी दलका सांसद उभिएर प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले बैठक एक घण्टाका लागि स्थगित गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा मन्त्रालयगत बजेटमा छलफल गर्ने कार्यसूची रहेको छ ।







