एजेन्सी, ४ आषाढ । ‘फलफूलको राजा’ भनिने आँपको सिजन सुरु भइसकेको छ । बजारमा विभिन्न प्रजातिका आँप आउन थालिसकेका छन् । सिजनमा प्राय: जसो प्रजातिका आँपको मूल्य प्रतिकिलो १/२ सय वरपर नै हुने गर्छ । तर एक किलोलाई लाखौं पर्ने दुर्लभ आँप समेत हुन्छ भन्दा अचम्म लाग्न सक्छ ।

विशेष तरिकाले उत्पादन गरिने मियाजाकी आँप संसारकै सबैभन्दा महंगो एवं दुर्लभ आँप हो । गुणस्तरीय मियाजाकी आँपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो ४ लाख ४० हजारसम्म पर्छ ।

विशेषगरी जापानमा उत्पादन गरिने मियाजाकी आँपलाई जापानी भाषामा ‘टाइयो नो टोमागो’ अर्थात् ‘घामको अण्डा (Eggs of Sunshine)’ भनिन्छ । अन्य आँपको रंग हरियो वा पहेँलो हुन्छ तर यो आँपको रंग रातो-रातो खालको हुन्छ । राम्रोसँग फलेको अवस्थामा एउटा मियाजाकी आँप ३५० ग्रामसम्मको हुन्छ भने यसमा चिनीको मात्रा १५ प्रतिशत वा सोभन्दा बढी पाइन्छ ।

मियाजाकी आँप उत्पादनका लागि विशेष खाले वातावरण चाहिन्छ । चम्किलो घाम, न्यायो मौस र धेरै वर्षा हुने ठाउँमा यो आँप राम्रोसँग फलाउन सकिन्छ । समान रुपले घामको किरण परोस् भनेर हरेक आँपमा सुरक्षा जालो (protective net) राखिएको हुन्छ । यही जालोका कारण मियाजाकी आँपको आकार अन्य आँपको भन्दा फरक देखिन्छ ।

पहिलो पटक १९८४ मा मियाजाकी आँप जापानमा उत्पादन गर्न थालिएको मानिन्छ । जापानमा बिक्री हुने महंगा कुरामा यो पनि पर्छ । मेदेखि जुन महिनाभित्र अधिकांश आँप बिक्री हुने गर्छ । गत वर्ष अन्तर्राष्ट्रिय बजारमा एक किलो मियाजाकी आँपलाई ४ लाख ४० हजार नेपाली रुपैयाँसम्ममा बिक्री गरिएको थियो ।

कहिलेकाहीँ उपहारको रुपमा समेत यही आँप दिने गरिन्छ । त्यस्तै, यो आँपलाई अन्य भोजनमा समेत सामेल गरिन्छ । हाल जापानबाहेक उपयुक्त वातावरण भएका अन्य मुलुकमा पनि उत्पादन गर्न थालिएको छ । यो प्रजातिको आँप उत्पादन गरिने अन्य मुलुकमा थाइल्याण्ड, फिलिपिन्स र भारत रहेका छन् ।

हालै भारतको मध्य प्रदेशमा एक परिवारले लटरम्म फलेका मियाजाकी आँपका दुई रुखलाई सुरक्षा दिन भन्दै ६ वटा कुकुर र ४ जना सुरक्षागार्ड खटाएको समाचार बाहिर आएको छ । संकल्प परिहार र उनकी पत्नी रानीले मध्यप्रदेशको जबलपुरस्थित आफ्नै बगैंचामा आँप फलाउँदै आएका छन् । उनीहरुको बगैंचाामा निकै दुर्लभ मानिने र सबैभन्दा महंगो आँप समेत फल्न थालेको छ ।

संकल्प र रानीले केही वर्ष पहिला मियाजाकी आँपका दुईवटा बिरुवा आफ्नो आँप बगैंचामा सारेका थिए । रेलमार्फत् चेन्नेई जान हिडेका एक व्यक्तिले उनीहरुलाई ती आँपका बिरुवा दिएका र सामान्य आँप ठानेर बिरुवालाई बगैंचामा सारे । तर आँपको रुख बढेर फल्न थालेपछि पहेँलो वा हरियोको साटो रातो-रातो रंङ देखेपछि संकल्प र रानी अचम्मित भएका छन् ।

संकल्प र रानीले कुरो बुझ्दै जाँदा उक्त आँप दुर्लभ र महंगो भएको थाहा पाए । संकल्पले आँपको नाम दामिनी अर्थात् आमाको नाम राखेका छन् । उनीहरुलाई आँप बेच्ने अफर आउन थालिसकेको छ । एक जना व्यापारीले एउटा आँपको मूल्य २१ हजार भारुसम्म दिने अफर गरेका छन् । उनीहरुले पहिलो आँप भने महाकाल भगवानलाई चढाउने निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here