२० जेष्ठ सर्लाही — दलित युवतीलाई विवाहको प्रलोभनमा पारी अलपत्र बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरी कारबाही प्रक्रियासमेत अघि बढाइसकेको छ ।
किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको जिल्लाका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । कुँवरले अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको बताए ।
जाहेरी परेलगत्तै पीडक पक्षबाट आर्थिक प्रलोभनसहित धम्कीसमेत आउन थालेको पीडित परिवारको गुनासो छ । प्रहरी र अधिकारकर्मी मिलेर किशोरीको उद्धार गरी सदरमुकाम मलंगवास्थित सेफ हाउसमा राखिएको अधिकारकर्मी बनिता कार्कीले बताइन् ।








