पर्सा १७ बैशाख ।
पर्सामा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्जका दुई महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको हो । वीरगञ्ज १६ नगवा बस्ने ४८ वर्षीया महिलाको आज बिहानैकरिब १ः४५ बजेतिर मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि यही वैशाख १२ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी ती महिलाका पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको दासले बताए । त्यसैगरी, अस्वास्थ्यमा समस्या भएपछि यही वैशाख १४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या समेत रहेको डा दासले बताए । ती संक्रमित महिलाको उपचारकै क्रममा बिहीबार राति ९ः३५ बजेतिर मृत्यु भएको उनले जनाए ।
यस्तै, जीतपुर सिमरा उपमहानगरपालिका २४ बस्ने ७७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण गएराति ११ः२५ बजेतिर मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रेपछि उनी यही बैशाख १० गते अस्पताल भर्ना भएका थिए । ती संक्रमित पुरुषमा पहिल्यैदेखि टीबीको समस्या थियो ।