१६ बैशाख एजेन्सी । अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन भएको छ । चन्द्रमामा पहिलो पाइला टेक्ने अपोलो ११ मिसनका सदस्य रहेका कोलिन्सको बुधबार ९० वर्षको उमेरमा निधन भएको हो । उनको परिवारका सदस्यले निधनको पुष्टि गरेका छन् ।
कोलिन्सको परिवारले भनेको छ, ‘उहाँ लामो समयदेखि क्यान्सरसँग निकै बहादुरीका साथ लडिरहनु भएको थियो तर बुधबार निधन भयो । उहाँले जीवनका अन्तिम दिन शान्तिका साथ परिवारजनसँग बिताउनु भयो ।’
अपोलो मिशनको क्रममा कोलिन्स चन्द्रमाको कक्षमै रोकिएका थिए । उनका साथीहरु नील आर्म्स्ट्रङ्ग र बज एल्ड्रिन भने चन्द्रमाको सतहमा उत्रिएका थिए ।
अपोलो ११ मिशनका ९१ वर्षका एल्ड्रिन मात्रै अब जीवित छन् । साथी कोलिन्सलाई श्रद्धाञ्जली दिँदै एल्ड्रिनले भनेका छन्, ‘प्रिय माइक, तिमी जहाँ छौ र रहे पनि तिम्रो उर्जा सधैँ हामीलाई भविष्यमा नयाँ उचाई छुनका लागि प्रेरित गरिरहने छन् । तिम्रो खुब सम्झना आउने छ । ईश्वर तपाईँलाई शान्ति प्रदान गरुन् ।’