१३ बैशाख काठमाडौँ । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने जानकारी दिए ।
‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौं,’ पराजुलीले भने, ‘अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।’
कोरोना संक्रमण बढ्न थालेपछि सोमबारदेखि नै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरिसकेका छन् ।
यसअघि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा पाँच सय कोरोना संक्रमित पुगे निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो ।







